काठमाडौं–विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलले यसवर्षदेखि रेडकार्पेटमा हिँड्ने सेलिब्रेटीको लागि नयाँ ड्रेस कोडको नियम लागू गरेको छ । जसअनुसार, यसवर्षदेखि नग्न र अश्लिल देखिनेसहितका ठूलो आकारका पहिरन लगाएर रेडकार्पेटमा हिँड्न पाइनेछैन ।

‘शालीनताको कारणले गर्दा रेडकार्पेटसहित महोत्सवको अन्य कुनै पनि क्षेत्रमा नग्नता निषेध गरिएको छ । विशेष गरी ठूलो आकारका पोशाकले पाहुनाहरूको आवागमनमा बाधा पुर्याउँछ र थिएटरमा बस्ने ठाउँलाई जटिल बनाउँछ । त्यसैले यस्तो पोशाकमा अनुमति छैन’ महोत्सवले आफ्नो आधिकारिक चार्टरमा उल्लेख गरेको छ, ‘महोत्सवको स्वागतमा खटिएको टोलीहरूले यी नियमको सम्मान नगर्ने जो कोहीलाई पनि रातो कार्पेटमा पहुँच निषेध गर्न बाध्य हुनेछन् ।’

पछिल्ला संस्करणमा कान्सको रेडकार्पेटमा एले फ्यानिङ, बेला हदीद र केन्डल जेनर जस्ता स्टारहरूले लगाएका धेरै निप्पल(बायरिङ लुगालाई लिएर प्रश्न उठेका थिए । सन् २०२२ मा, युक्रेनको समर्थनमा भएको विरोध प्रदर्शनमा आफ्नो लुगा फुकालेर एक टपलेस महिलालाई रातो कार्पेटबाट बाहिर निकालिएको थियो ।

तर, फेसन क्रिटिक चाहिँ कान्सको विरोधमा सुनिएका छन् । उनी ‘नग्न पोशाक’ भन्ने अवधारणा नै गलत भएको बताउँछन् । फेसन क्रिटिक रोज म्याकगोवनले कथित नग्न भनिएका पोशाक महिला सशक्तीकरणको हिस्सा भएको बताए ।
कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण मंगलबार रातीदेखि फ्रान्समा सुरु भएको छ । कान्स फिल्म प्रदर्शन र बजारभन्दा यसको ग्ल्यामर फेसनको कारणले पनि चर्चामा आउँछ ।
