‘काजी’ ले नयाँ पुस्तालाई प्रेमको महत्व बुझाउँछ : अभिनेता कार्की

राम्रो अनलाइन     ०६ जेठ २०८३, बुधबार
‘काजी’ ले नयाँ पुस्तालाई प्रेमको महत्व बुझाउँछ : अभिनेता कार्की

काठमाडौँ–अभिनेता विपिन कार्कीले चलचित्र ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाका विषयमा नभई विशुद्ध प्रेमकथामा आधारित रहेको बताए।

सो चलचित्रका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै अभिनेता कार्कीले ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने प्रेमकथानक चलचित्र ‘काजी’ यही जेठ ८ गते प्रदर्शन हुने बताए। पशुपतिप्रसाद, प्रसाद, लुटलगायतका चलचित्रमा अभिनय गरेको स्मरण गर्दै उनले प्रेम कथामा आधारित ‘काजी’  चलचित्रले विशेषगरी युवा पुस्ताको मन जित्ने विश्वास व्यक्त गरे।

अभिनेता कार्कीले भने, “हामीले चलचित्रमा प्रस्तुत गरेको पात्र मायालु काजी हो । प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको निःस्वार्थ प्रेमको कथा हो । नयाँ पुस्तालाई काजीले प्रेमको महत्व, समर्पण र सामीप्यतासँग परिचित गराउँछ ।”

यसैगरी अभिनेत्री केकी अधिकारीले भनिन्, “काजी जस्तो प्रेमी वा श्रीमान् सबैले चाहन्छन्, यो चलचित्रमा देखाइएको प्रेमकथाले नरसाउने आँखा सायदै कम होलान् । अहिलेको पुस्तामा प्रेमप्रतिको जे–जस्तो आकर्षण, समर्पण र बुझाइ छ, त्यसलाई यथार्थपरक एवं सकारात्मक सोचमा बदल्न चलचित्र सफल हुने विश्वास लिएकी छु ।”

रिजाल एण्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको निर्माण रामप्रसाद रिजाल र निर्देशन लक्ष्मण रिजालले गरेका हुन्।

सो चलचित्रमा अभिनेता कार्की र अभिनेत्री अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजले पटकथा लेख्नुभएको उक्त चलचित्रमा चिन्तन राजभण्डारीले छायाङ्कन निर्देशन, कालीप्रसाद बास्कोटाले सङ्गीत सिर्जना, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन गरेको निर्माता रिजालले जानकारी दिए।

प्रतिक्रिया