काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार (मंसिर ११) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १४३ रन बनाएको हो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधक ३५ रन बनाए । उनले ५२–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति दिलीप नाथसँग ५२ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, हेमन्त धामीले १४।१ ओभरमा रोहितलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराएपछि लुम्बिनीको इनिङ सुस्ताएको थियो ।
दिलीप नाथले २९ बलमा दुई चौका र एक छक्कासहित ३१ रन थपे । ओपनरद्वय डी‘एर्सी शर्ट र सुमित महर्जनले समान १८ रन जोडे । अफगानिस्तानका अलराउन्डर गुलबद्दिन नैबले पनि ११ रन मात्र बनाउन सके । लुम्बिनीका रुबेन ट्रम्पेलमन डक भए । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
सुदूरपश्चिमका अभिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए । तीन विकेट लिएका हर्मित सिंहले ३।४ ओभरमा २२ रन मात्र खर्चिए । हेमन्त धामीले दुई, स्कट कुग्गेलिनको नाममा एक विकेट रह्यो ।