काठमाडाैं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ।
मध्यक्रम ब्याटर रवि बोपाराको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १७५ रनको लक्ष्य प्रस्तुत गरेको हाे ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल खडा गर्यो ।
चितवनका बोपाराले सर्वाधिक ६५ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एनपीएलको दोस्रो संस्करणमा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो । बोपाराले यसअघि कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका थिए ।
बोपाराले ६६–३ को स्थितिबाट सैब जैबसँग ४९ रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए । यस्तै, बोपाराले ११५–४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति ५६ रनको साझेदारी गरेपछि चितवन चुनौतीपूर्ण योगफलसम्म पुगेको हो ।
जैबले ३२ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले १४ बलमा एक चौका र एक छक्कासहित २० रन थपे ।
देव खनालले २२ बलमा तीन चौका र एक छक्कासहित २८ रन जोडे । डेविड मलानले नौ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लिंगेले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चिए । यस्तै, सुभव रन्जानेको नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।
विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।