मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’

राम्रो अनलाइन     ०८ मंसिर २०८२, सोमबार
मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ नगरप्रमुख कृष्णहरि महर्जन

काठमाडौँ–तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा ‘खेल तारकेश्वरको सन्देश एकताको’ भन्ने मूल नारासहित आगामी यही मङ्सिर १३ गतेदेखि प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ६० विद्यालयका करिब पाँच हजार विद्यार्थीले भाग लिने नगरप्रमुख कृष्णहरि महर्जनले जानकारी दिए।

मङ्सिर १३ गतेदेखि २० गतेसम्म हुने प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, चेसलगायत १२ विधाका खेल खेलाइने उनले बताए। खेलमा १८ वर्ष मुनिका बालबालिका सहभागी हुनेछन् ।  प्रतियोगिताको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।

कूल २३४ पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन वडा नं ८ को पिपलडाँडा मैदानमा र समापन वडा नं ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्तना हासिल गर्नेलाई क्रमशः रु एक लाख, ६० हजार, ४० हजार र २० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिने छ । 

तारकेश्वरको टोलीले राष्ट्रपति रनिङ शिल्डमा पछिल्ला दुई वर्ष काठमाडौँ जिल्लामा पहिलो स्थान हाँसिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया