नागार्जुनको काव्यगोष्ठीः स्व थपलियाको कृतिमाथि परिचर्चा

राम्रो अनलाइन     १५ कात्तिक २०८२, शनिबार
नागार्जुनको काव्यगोष्ठीः स्व थपलियाको कृतिमाथि परिचर्चा

काठमाडौँ–नागार्जुन वाङ्यमय प्रतिष्ठानले दिवङ्गत साहित्यकार एवं पत्रकार यादव थपलियाको ४५औँ जन्मजयन्तीका सन्दर्भमा उनका विभिन्न साहित्यिक कृतिहरूमाथि परिचर्चाको आयोजना गरेको छ ।

प्रतिष्ठानको मासिक शुभप्रभात काव्यगोष्ठी समेतका अवसरमा आज उनका कृतिहरू ‘मृत्युचुम्बन’ (उपन्यास), ‘समीक्षा कुटुरो’ (समीक्षा), ‘हाँडीगाउँको जात्रा’ (कविता), ‘फर्सीबाको न्याय’ (बालकथा) बारे समालोचक र पत्रकारहरूबाट समीक्षा गराइएको हो । वक्ताहरूले स्व थपलियाले साहित्यिक र पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताए।

समालोचक प्राडा रामप्रसाद ज्ञवालीले ‘मृत्युचुम्बन’ उपन्यास र समग्र समालोचना प्रस्तुत गर्दै हरेक स्रष्टाले सामूहिकताको सौन्दर्यदृष्टि दिन सक्नुपर्नेमा जोड दिए । उनले थपलियामा त्यस प्रकारको प्रचुर सम्भावना भए पनि छोटो उमेरमा उनलाई गुमाउनु परेकाले साहित्यिक र पत्रकारिता क्षेत्रलाई क्षति पुगेको धारणा राखे ।

‘समीक्षा कुटुरो’ माथि दिनदयाल रेग्मी, ‘हाँडीगाउँको जात्रा’ माथि प्रकाश सिलवालले र ‘फर्सीबाको न्याय’ बारे रामदेव पाण्डेले परिचर्चा गर्दै थपलियामा समयबोध र सामाजिक सन्देशयुक्त सृजनाको सामर्थ्य रहेको बताए। 

कार्यक्रममा थपलियाका जीवनसँगिनीसमेत रहेकी कवि गङ्गा खतिवडाका ‘स्रष्टा विशेष’ अन्तर्गत चार कविता प्रस्तुत गरिएको थियो भने कविहरू वैरागी जेठा, शिवहरि पाण्डे, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’ र सुशीला शर्माले स्रष्टा थपलियाका कविता वाचन गरेका थिए। 

दिवङ्गत थपलिया कान्तिपुर दैनिकका तत्कालीन उपसम्पादक तथा नागार्जुनका संस्थापक सदस्य÷पूर्वउपाध्यक्ष थिए। काभ्रेको पाँचखाल नगरपालिका–११ डाँडाथोकमा विसं २०३५ असोज २१ गते जन्मिएका थपलियाको ४० वर्षमा विसं २०७५ असार १५ गते निधन भएको थियो ।

कार्यक्रममा वरिष्ठ कवि पूर्णविरामका कवितावाचकमध्येबाट अल्फी फोहेन फाक्लुप्पाले रु एक हजार पुरस्कार प्राप्त गरे। कृष्णहरि भट्ट, नवराज दाहाल, देवी पराजुलीले आफ्ना कविता वाचन गर्नुभएको थियो । समालोचक डा ज्ञवालीसहित अन्यलाई नेपाली भाषा(साहित्यमा योगदान दिएबापत ‘नागार्जुन वाङ्यमय सम्मान(२०८२’ प्रदान गरिएको संस्थाका अध्यक्ष दिल पौडेलले जानकारी दिए।

प्रतिक्रिया