युवाको बेचैनी बोकेको ‘इन्द्रेणी’सँग प्रियनाको नयाँ उडान

राम्रो अनलाइन     २६ मंसिर २०८२, शुक्रबार
युवाको बेचैनी बोकेको ‘इन्द्रेणी’सँग प्रियनाको नयाँ उडान

काठमाडौँ–ललितपुरको ज्वागलको एक चिसो बिहानी। कफीको न्यानोपनसँगै प्रियना थापा–दर्शकले ‘मुन्नी’ भनेर चिनेकी कलाकार, आफ्नो नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ को कुरा गर्दै मन्द मुस्कानमा भेटिइन्। दशकभन्दा बढी समयदेखि स्टेज, टेलिभिजन र सिनेमामा जम्दै आएकी उनी अहिले तेस्रो फिल्मको अपेक्षा र जिम्मेवारीसँग उभिएकी छिन्।

छ वर्षको उमेरमा नाटक ‘मैना’ बाट अभिनय सुरु गरेकी प्रियनाले ‘अन्तिम लास’, ‘ज्ञ’, ‘विकास भर्सेस निकास’ जस्ता नाटकमा अभिनय गर्दै आफूलाई घचिलो बनाइन्। बालकलाकारका रूपमा फिल्म ‘निगरानी’ मा देखिएकी उनी पछि ‘नाइँ नभन्नू ल’ हुँदै टेलिभिजनतिर मोडिइन्।

टिभी श्रृंखला ‘भद्रगोल’ र ‘सक्किगो नि’ मा मुन्नी बनेर आउनेबित्तिकै उनी घरघरमा परिचित भइन्। उनी भन्छिन्, “दुई एपिसोडमा २०–२५ वर्षले कमाउने माया पाएँ।”

तर, मुन्नीको चमकभित्र एक अर्को कथा लुकेको छ— विदेश जीवन छाडेर स्वदेश फर्किएको। युकेमा अध्ययन र पेसागत सम्भावना प्रशस्त थियो। स्वास्थ्य, शिक्षा र जीवनशैली सहज। तर उनी भन्छिन्, “कलाकारिताको बिउ नेपालमै रोपेकी थिएँ। त्यो बोट स्याहार्न फर्किएँ।” विदेशले दिइसकेको सुरक्षा र सुविधा पनि नेपालप्रतिको आत्मीयता जित्न सकेन।

त्यही समयमा नेपालमा ‘जेनजी आन्दोलन’ आफ्नो उचाइमा थियो—युवाको असन्तुष्टि, भविष्यप्रतिको बेचैनी र सिस्टमप्रतिको आक्रोश। यही भावनाले प्रियनाको नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ सँग मेल खान्छ। फिल्ममा उनले निर्वाह गरेकी अनुपमा विदेश जान चाहन्छे, तर भिसा समस्या, सिस्टमको दैनिकी र सामाजिक दबाबले थिचिएको हुन्छ। “युवाको फ्रस्टेसन, पारिवारिक अपेक्षा र सामाजिक असन्तुलन—सबै छ फिल्ममा,” उनी बताउँछिन्।

प्रियनाको वास्तविक जीवन र अनुपमाको कथा एक–अर्काको पूर्ण विपरीत छन्। अनुपमा देश छाड्न आतुर छ भने प्रियना विदेश छाडेर फर्किएकी छिन्। “मलाई नेपाल नै घरजस्तो लाग्छ। अनुपमालाई भने बस्नै मन लाग्दैन,” उनी भन्छिन्। यही द्वन्द्व फिल्मको केन्द्रविन्दु हो।

टिभीबाट आएका कलाकारप्रति अझै ‘हल्का दृष्टि’ कायम रहेको अनुभूति उनलाई हुन्छ। “कहिलेकाहीँ ‘सिरियल गर्ने’ भनेर हियाउने नजर पर्छ,” उनी भन्छिन्। तर उनले यसलाई अवरोध होइन—प्रेरणा बनाएकी छन्। उनी भन्छिन्, “ठूलो पर्दामा लिड गर्ने दिनको पर्खाइमै छु।”

अब उनको आकांक्षा नयाँ पात्रमा उभिने हो—सहरी, दमदार र बोल्ड। दीपिका पादुकोणको ‘ओम शान्ति ओम’, आलिया भट्टको ‘गुंगुबाई’ जस्ता भूमिकाले उनलाई आकर्षित गर्छन्। संगीततिर पनि फर्किने योजना छ । १६ वर्षमै रेकर्ड गराएको तर नरिलिज भएको गीतलाई अब निरन्तरतामा बदल्न चाहन्छिन्।

 

पुस ४ मा रिलिज हुने ‘झरीपछिको इन्द्रेणी’८लाई उनले ‘आशाको प्रतीक’ मान्छिन्। झरीपछि इन्द्रेणी उदाएझैं, अभिनय यात्रामा आफ्नो नयाँ रंग उदाउने अपेक्षासहित उनी भन्छिन्—“सपना जटिल छन्, तर म तयार छु।”

प्रतिक्रिया