गायक राजेश पायल राईले किरात पुर्खाहरूमाथि हमला भएको भन्दै आक्रोश पोखेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ स्थित तुवाचुङ जायजुममा रहेको किराती पुर्खाहरू तायामा, खियामा र हेत्छाकुप्पाको प्रतिमा तोडफोड भएपछि ‘खुँडा बोक्न’ बाध्य हुने बताएका हुन् ।
‘मलाई त लाग्थ्यो हाम्रो सृष्टिकर्ता तोयामा, खियामा र रैछाकुले (हेत्छाकुप्पा) को वरदानले हामी यहाँ छौँ र संस्कारी बनेका छौँ’, उनले लेखेका छन्, ‘यो उपद्रो कसले गर्यो ? खोज किराती केटो हो नत्र म गीत गाउन छोडेर खुडो बोक्न नपरोस् ।’
गायक राईले किरातीहरूको आस्थाको धरोहर तथा पुर्खाहरूको प्रतिमामाथि आक्रमण हुनु निन्दनीय भएको बताएका छन् ।
किरात राईहरू तायामा, खियामा र हेत्छाकुप्पालाई आफ्ना पुर्खा तथा संस्कारका जननी मान्ने गर्छन् । किराती मिथकअनुसार यी दुई दिदी र एक भाइ हुन् ।
तुवाचुङ एक ऐतिहासिक पर्यटकीय तथा धार्मिक स्थल पनि हो ।


