अभिनेत्री एन्जल श्रेष्ठ नियमित योग गर्छिन् । उनी योग प्रशिक्षक पनि हुन् । फिल्म, म्युजिक भिडियो, विज्ञापन लगायत थुप्रै इभेन्टहरूमा काम गरिसकेकी उनलाई योगले फिट एण्ड फाइन राख्न सहयोग पुर्याएको बताउँछिन् । काठमाडौँको योगमाण्डु योगा स्टुडियोबाट टिचर ट्रेनिङ कोर्स गरेकी उनी योगलाई आफ्नो जीवशैली बनाउने बताउँछिन् । उनले राम्रोअनलाइनका लागि केही योग आसनका बारेमा जानकारी दिएकी छिन् ।

पर्वतासन : श्वास बाहिर गर्दै दयाँ खुट्टालाई पछाडि लगेर खुट्टासँग जोडेर राखौँ । हात र खुट्टा सिधा हुने गरी तनक्क तन्काउँ । टाउको दुई हात बीचबाट भित्रपट्टि झुकाउँदै घुँडा तर्फ हेरौँ । हिपलाई पूरा माथि पर्वत जस्तो बनाएर उठाउँ, पेट भित्र लैजाउँ । यो अवस्थामा श्वास बाहिरै हुन्छ ।
–दुवै हात र दुवै खुट्टा यथास्थानमै रहन दिने
–अब मेरुदण्डलाई उचालेर शरीरलाई पर्वत आकारमा लैजाने
–टाउकाले पनि भुईं छुने प्रयत्न गर्ने कुइना र घुँडा सिधा राख्ने
–सास सामान्य
लाभः हात र खुट्टाको मांसपेशी क्रियाशिल हुने हुँदा यसलाई सबल बनाउन मद्दत गर्दछ । मेरुदण्डको तनावलाई सामान्य बनाइ दिन्छ ।
नटराज आसन

–दुवै खुट्टा एकसाथ राखी सावधानीपूर्वक उभिने
–बायाँ खुट्टा पछाडिबाट उचालेर दुवै हातले समात्ने
–खुट्टा सकेसम्म माथि पर्याउने, हातले समाई केही क्षण तन्काएर राख्ने
–विस्तारै खुट्टा र हात सामान्य अवस्थामा वापस ल्याउने
–दाहिने खुट्टाले सोही अभ्यास दोहो¥याउने
(लाभ– समग्र शरीरको कसरत हुन्छ । पाखुरा र जाँघको मांशपेशी बलिष्ठ हुन्छन् । ढाड, कम्मर दुख्नेमा लाभकारी ।)
एक पादहस्तासन

बायाँ खुट्टा मोडेर दायाँ तिघ्रामाथि बिसाउने । बायाँ हात कम्मर पछाडि लगी बायाँ पैतला समाउने । सास तानेर दायाँ हात पुरै माथि उचाल्ने र सास छोड्दै झुके घुँडा ढोग्न कोसिस गर्ने । दयाँ हत्केलालले जमिनमा टेकी राख्ने । निश्चित समय बसिसकेपछि सास तान्दै पूर्ववत सीधा उभिने र सास छोड्दै बिस्तारै हात–खुट्टा झार्ने । यही क्रिया बायाँ खुट्टामा उभिएर सम्पन्न गर्ने ।
यो आसन १५ सेकेण्डदेखि ३ मिनेटसम्म गर्न सकिन्छ । यसले खुट्टा थप स्वस्थ्य एवं मजबुत पार्छ । एकाग्रताको क्षमतामा थप बल पुग्छ ।
चक्रासन


–उत्तानो स्थितिमा भुईंमा पल्टने, दुवै हात काँध बाहिर दृढतापूर्वक टेकेर राख्ने
–अब दुवै खुट्टाले भुईंमा टेक्दै शरीर बिस्तारै उचाल्ने
–मेरुदण्डलाई सकेसम्म बढी उठाउने र खुट्टालाई पनि हातको नजिक लैजान प्रयत्न गर्ने
–चक्रासनको पूर्णस्थितिमा केही क्षण रोकिएपछि सावधानीपूर्वक सामान्यवस्थामा फर्कने
(लाभ– हात, खुट्टा, मेरुदण्ड, काँध पुष्ट र सबल हुन्छन् । मेरुदण्डको लचकता बढ्छ, पेट आकर्षक र सन्तुलित हुन्छ । छाती तथा शिरमा पर्याप्त रक्तसञ्चार भई तनाव घट्छ, स्फूर्ति बढ्छ । जीवनी शक्ति एवं आत्मविश्वास बढाउन सहयोग हुन्छ ।)
सावधानः गर्भिणी तथा नाडी कमजोर भएकाहरूले, साह्रै थकाइ लागेको बेला, रक्तचाप साह्रै धेरै वा कम छ भने भने, मुटुको रोग भएमा, साह्रै टाउको दुखेको बेला यो आसन गर्नु हुँदैन ।
कपुतासनः

शुरुमा वज्रआसनमा बस्ने । विस्तारै दुबै हातलाई कम्मर समाती पछाडि लाग्ने । कुहिनोलाई बिस्तारै भुईंतिर लाग्ने । कम्मरलाई माथि उठाउने र टाउकोले भुईं छुने । श्वास लिने र छोड्ने कार्य निरन्तर गरिराख्नु पर्छ । बल गरेरभन्दा जति गर्दा आफूलाई सहज हुन्छ त्यती मात्र गर्ने ।
हिप र छाती खोल्न मद्दत गर्छ । थाइरोइडका बिरामीलाई फाइदा हुन्छ । रक्तसञ्चार बढाउँछ ।
कुहिनो, गर्दन, कुम, ढाड, घुँडामा समस्या भएकाहरूले यो आसन गर्नु हुँदैन ।
धनुरआसन

घोप्टो परेर सुत्ने, खुट्टा मोड्ने, हातले खुट्टा (पिडौंला नेर) समात्ने । श्वास तान्दै मोडिएका खुट्टा जति सकिन्छ उठाउने । टाउको पनि जति सकिन्छ पछाडितर्फ लैजाने । छाती माथि उठाउने ।
हातले जति सकिन्छ खुट्टा आफूतिर तानिरहने । गहिरो सास श्वास लिने र छोड्ने । एक मिनेटसम्म यही प्रक्रिया गर्ने ।
यो आसन गर्द पिठ्यूमा ध्यान दिने । लामो श्वास तानेर पहिलेकै अवस्थामा फर्किने । शरीरलाई सुविधापूर्ण रूपमा छोडी दिने । कब्जियत, अजीर्ण जस्ता समस्या समाधानमा यो आसन लाभदायक हुन्छ । मोटोपन घटाउँछ । पेटलाई बलियो बनाउन मद्दत गर्दछ ।
हलासन

सबैभन्दा पहिले पिठ्युँमा भार लगाएर म्याटमा सुत्नुपर्छ । दुवै हात भुईंमा राख्नुपर्छ । अब खुट्टालाई कम्मरबाट ९० डिग्रीको कोण बनाउँदै माथितिर उठाउनुपर्छ ।
खुट्टालाई टाउको पछाडि सार्ने प्रयास गर्नुपर्छ । यस्तो गर्दा खुट्टाको औंलाहरुले जमिन छुनेछन् । यो पोजिसनमा केही समयसम्म रहने र श्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसपछि बिस्तारै पछाडि सरी आफ्नो खुट्टा जमिनमा राख्ने प्रयास गर्नुपर्छ । त्यसपछि सामान्य मुद्रामा फर्कनुपर्छ ।
फाइदा
–यसले पेटको बोसो घटाउने मात्र होइन, प्याङ्क्रियाज, कलेजो र आन्द्रासहित सम्पूर्ण पाचन प्रणालीलाई बलियो बनाउँछ ।
–समग्र शरीरलाई लचिलो राख्छ ।
–रक्तसञ्चारमा सुधार ल्याई सम्पूर्ण शरीरमा अक्सिजनको प्रवाह राम्रो गर्न सक्छ ।
–पाद–हस्तासनले उचाइ बढाउन र तिघ्राको मांसपेशीलाई लचिलो बनाउँछ ।
–हिप, तिघ्रा, घाँटी र चिउँडो जस्ता शरीरका प्रमुख अंगहरूको बोसो घटाउँछ ।
यी आसन जुनसुकै उमेर समूहले गर्न सक्छन् । बिहानको समयमा यी योगाभ्यास गर्नु उपयुक्त हुन्छ, किनभने बिहान खाली पेट हुन्छ, जसकारण शरीरमा यो समयमा ऊर्जा र लचिलोपन दुवै हुन्छ ।