व्यास नपाको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता

राम्रो अनलाइन     १० असार २०८०, आइतबार

 

दमौली– तनहुँको व्यास नगरपालिकाले कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले आज आयोजित ३९ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा छन् । 

स्थापनाकालदेखि नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरुको जगमा रही राज्य पुर्नसंरचनापछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले विगतका कामको समिक्षा गर्दै नगरवासीको भरोसालाई ध्यानमा राखेर स्रोतगत सीमाहरुलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख न्यौपानेले उल्लेख गरे । 

नगरपालिकाले निर्माण गरेको एकीकृत शहरी विकास योजना र आवधिक योजना समेतले अग्रणी क्षेत्रमा प्राथमिकीकरण गरेको कृषि क्षेत्रको विकास एवं व्यावसायीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने नगरप्रमुख न्यौपानेले बताए । 

नगरक्षेत्रभित्र रहेका निजी तथा सार्वजनिक खाली जमिनको उत्पादनशील उर्जालाई खेर जान नदिन र कृषि योग्य भूमिको पूर्ण उपयोग गरी कृषि उत्पादनलाई बढवा गर्दै लैजाने नीति लिइएको उहाँले उल्लेख गर्नुभयो । जैविक खेती प्रणालीमा जोड दिई तत्काल आवश्यक पर्ने रसायनिक मल, गड्यौला मल, प्राङ्गारिक मल तथा उन्नत बीउको आपूर्ति एवं वितरण र सिंचाइ क्षेत्रको विकास एवं विस्तार गरिने न्यौपानेले बताए । 

कृषि क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न बजार क्षेत्र बाहेकका वडामा न्यूनतम एक सङ्कलन केन्द्र र दमौली बजार क्षेत्रमा किसानहरुले उत्पादन विक्रीका लागि किसान बजारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

कृषि उपज विक्री वितरणका लागि दमौलीमा परम्परागत रुपमा सञ्चालन हुने गरेका बुधबारे हाट बजार र माघेसङ्क्रान्तिमा लाग्ने मेलालाई सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ । 

प्रदेश सरकारसँगको सहकार्यमा जग्गा चक्लाबन्दी कार्य अगाडी बढाउने र मकै, धान, कोदो पकेट क्षेत्र एकिन गरी विशेष कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख न्यौपानेले बताए। 

एक वडा एक फलफूल, पुष्पखेती तथा तरकारी नर्सरीको स्थापनामा जोड दिई व्यवसायी प्रबद्र्धनमा सहयोग पुर्‍याउने नीति लिइएको छ । कृषि व्यवसायीलाई व्यवस्थित, मर्यादित गर्न कृषि उद्यमशीलता विकास गरी कृषकहरुको जीविकोपार्जनमा सुधार ल्याउन सम्बद्ध कृषकहरुलाई व्यावसायिक प्रशिक्षण एवं अनुभव आदानप्रदान गर्न कृषि विज्ञ सम्मिलित व्यास नगर कृषि समन्वय समिति गठन गरिने नगरप्रमुख न्यौपानेको भनाइ छ । 

नगरभित्र रहेका व्यास जन्मभूमिमा महर्षि वेदव्यासको १०८ फिटको अग्लो मूर्ति निर्माण, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा झुला निर्माण, ऐतिहासिक तनहुँसुर दरबार क्षेत्र, भगवती पानी, छाब्दी वाराह, मानुङकोट, गलेखामकोट, कालिका सहिद जङ्गल पार्क, छाब्दीवाराही लगायतको संरक्षण एवं सम्बद्र्धन गर्ने नीति लिइएको छ । 

जीविकोपार्जन र रोजगारीका अवसर वृद्धि गर्न जल पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधीकरण तथा विस्तारमा जोड दिइने नीतिलाई निरन्तरता दिइने नगरप्रमुख न्यौपानेले बताए। 

व्यास नगरपालिका–१० दुम्सी बजार स्थित पिसिआर प्रयोगशालालाई विस्तार गरिनुका साथै निर्माणाधीन दुम्सी नगर कोभिड अस्पताल व्यास नगर अस्पतालमा परिणत गरी आगामी वर्षदेखि सञ्चालनमा ल्याउने नीति लिइएको छ । 

प्रदेश सरकार मातहत दमौली बजारमा रहेको दमौली अस्पतालको विस्तार एवं गुणस्तरीय सेवाका लागि सहकार्य गर्ने र जग्गा अभावले अस्पालको थप सुधार हुन नसकेको हुँदा अस्पतालसँग जोडिएको कृषि ज्ञान केन्द्र अन्यत्र स्थानान्तरण गरी कृषि ज्ञान केन्द्रको जग्गामा अस्पताल स्तरीकरण गर्न सरकारसँग आग्रह गर्ने न्यौपानेले बताए । 

निजी एवं लगानीमैत्री नगरपालिका निर्माण गर्न निजी साझेदारी अवधारणा बमोजिम मानुङकोट, मादी नदी एकीकृत विकास आयोजना, नारेश्वर ताल निर्माण लगायतका योजनामा सहकार्य गर्ने कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यमीलाई व्यावसायिक प्रबद्र्धन एवं स्वरोजगार सिर्जना गर्न विभिन्न वित्तीय संस्थासँग समन्वय गरी नगरपालिका समेतको सहभागितामा व्यवसाय सञ्चालन गर्न अनुदान एवं सरल ऋण उपलब्ध गराउन सहयोग पुर्‍याउने उनको भनाइ छ । 

नगरपालिकाको विकास अभियानमा आग्रह पूर्वाग्रहबाट माथि उठी सङ्घीय, प्रदेश र वर्तमान तथा पूर्व जनप्रतिनिधि एवं विज्ञहरुको अनुभव, परामर्श र सल्लाहलाई सदुपयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उनले बताए।
 

प्रतिक्रिया