काठमाडौँ–नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लगानी गर्न चाहे पनि सरकारले त्यसका लागि वातावरण बनाउन नसकेको बताए। ‘मुलुकको अर्थतन्त्र धान्ने निजी क्षेत्र पखेटा फिँजाएर लगानी गर्न खोजिरहेको छ । तर यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । निजी क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ’, ढकालले भने।
उद्यमशीलताका लागि नयाँ विचार, सोचसँगै समय र लगानीको आवश्यकता पर्ने उल्लेख गर्नुहुँदै ढकालले उद्यमीले श्रम पसिना बगाएर निर्माण गरेको उद्यमलाई सरकारी नीति र कर्मचारीको लहडले एकैछिनमा भताभुङ पारिदिनसक्ने अवस्था अहिले रहेको बताए। आर्थिक विकास र समृद्धिको सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक प्रतिबद्धता महत्वपूर्ण रहेको उनको भनाइ थियो ।