काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको खस्केको मनोबल उकास्नु अपरिहार्य रहेको बताएका छन् । ‘जबसम्म निजी क्षेत्रको मनाबल उठ्दैन, निजी क्षेत्रमैत्री ऐन कानून बन्दैन र सरकारमा बस्नेको नियत सुध्रिदैन तबसम्म देश बन्दैन’, उनले भने । सरकारले बनाउने ऐनकानुन निजी क्षेत्रमैत्री हुनुपर्नेमा उनले जोड दिए।
सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेकोमा अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धता कार्यान्वयन भए नभएकोबारे समीक्षा गरिनुपर्ने लिङ्देनको भनाइ थियो । निजी क्षेत्रले राज्य संयन्त्रबाट पर्याप्त सहयोग नपाएको पनि उनले उल्लेख गरे।
‘हाम्रोजस्तो देश निजी क्षेत्रको सहभागिता बिना बन्न सक्दैन । यसका लागि निजी क्षेत्रको मनोबल उठाउनुपर्यो’, लिङ्देनले भने। निजी क्षेत्रले आफ्ना समस्या सरकारलाई स्पष्ट रुपमा सुनाउन आँट नगरेको पनि उनको भनाइ छ ।