काठमाडौं– नेपाल प्रहरीमा नयाँ आईजीपी नियुक्तिको गृहकार्य थालिएको छ। हालका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ कात्तिक २६ गतेदेखि प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि संगठनले नयाँ आईजीपी पाउन लागेको हो।
प्रहरी नियमावली, २०७१ को नियम ४१ ले ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता र नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन एवं परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने व्यवस्था गरेको छ।
बढुवा समितिको सिफारिसअनुसार गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुपर्ने हुन्छ। गएको भदौ १९ गतेमात्रै आईजीपी बनेका खापुङ छोटो समय प्रहरी प्रमुख बनेका हुन्। उनको अवकाशसँगै नयाँ आईजीपी को बन्लान् भन्ने चासो प्रहरीमा बढेको छ। आईजीपीका लागि प्रमुख चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरू दाबेदार छन्। एआईजी दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रमुख दाबेदार हुन्।
कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरी, अधिकारी मानव स्रोत साधन विभाग, केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। यस्तै शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्ज प्रमुख छन्।
यस्तो छ कार्कीको ट्रयाक रेकर्ड
३३औँ प्रहरी प्रमुखका लागि पहिलो नम्बरका दाबेदार एआईजी कार्की हुन्। उनी वरीयताका कारण पहिलो दाबेदार बनेका हुन्। डीआईजी बढुवादेखि एआईजीसम्म नै कार्की बढुवा सूचीको एक नम्बरमा छन्।
भदौ २४ गते जेनजी प्रदर्शनको कमाण्ड सम्हाल्न आकस्मिक रूपमा कार्की उपत्यकाको कमान्ड सम्हाल्न पुगेका थिए। एआईजीको सरुवाको अधिकारी मन्त्रिपरिषद्ले गर्ने भए पनि कार्कीलाई विशेष परिस्थितिमा रानीपोखरीको कमान्ड सम्हाल्न पठाइएका थिए।
यसअधि उनी डीआईजी हुँदा लुम्बिनी प्रदेश प्रमुख र एआईजी बढुवालगत्तै प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख भएर काम गरेका थिए।
एसएसपी हुँदा पनि उनले काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हालेका थिए। कार्कीकै कार्यकालमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा सरकारका बहालवाला सचिव तथा पूर्वगृहन्त्रीसमेत पक्राउ परेका थिए।
आईजीपीको सचिवालयमा समेत बसेर अनुभव लिएका कार्की संगठनमा नरम शैलीमार्फत मातहतका कर्मचारीलाई प्रभावमा राख्ने अधिकारीका रूपमा परिचित छन्। उनले प्रहरी सम्बन्धी केही गीतहरूसमेत लेखेका छन्।
प्रहरी संगठनमा कार्कीलाई बुझ्नेहरूका अनुसार उनी कम स्ट्रेसमा बोल्ड निर्णय गर्ने क्षमता भएका अधिकृतमा पर्छन्। उनी सकभर कसैलाई पनि चिढ्याउन चाहँदैनन्। युएनमा लामो समय काम गरेका उनी कानूनअनुसार चल्ने व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन्।
प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका कार्की हालसम्म पनि आर्थिक विवादमा आएका छैनन्। बानेश्वर वृत्तमा रहँदा कालोबजारीविरुद्ध मुद्दा चलाउन खोज्दा तत्कालीन काठमाडौं प्रहरी प्रमुख विक्रम थापाको गलत निर्देशन नमानेपछि उनी चर्चामा आएका थिए। कार्की आफू मातहतका सबैलाई मिलाएर लैजान सक्ने र चेन अफ कमान्डमा खरो रूपमा प्रस्तुत हुने अधिकृत हुन्।