विश्वकै उत्कृष्ट क्लबमा एलओडी, ४० औँ स्थानमा उक्लियो

राम्रो अनलाइन     ०३ वैशाख २०८३, बिहिबार
विश्वकै उत्कृष्ट क्लबमा एलओडी, ४० औँ स्थानमा उक्लियो

काठमाडौं – काठमाडौंको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ । बेलायतस्थित प्रतिष्ठित म्यागजिन डिजे म्यागद्वारा सार्वजनिक ‘उत्कृष्ट १०० क्लब’को सूचीमा एलओडी ४०औँ स्थानमा परेको हो ।

हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई डिजे म्यागले उत्कृष्टको सूची प्रकाशन गर्दै आएको छ । यो वर्षको प्रतिस्पर्धामा विश्वभरबाट ५०० भन्दा बढी क्लब सहभागी थिए ।

एलओडीका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुककै निम्ति गौरवको विषयका रूपमा व्याख्या गरे । ‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्वसंगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’ उनले भने ।

उनले अगाडि भने, ‘टप १०० क्लबको सूचीमा ४०औँ स्थानमा पुग्नु रात्रिकालीन जीवनशैली तथा पर्यटन प्रर्वधन लागि उल्लेखनीय उपलब्धि हो । यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ ।’

कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धि हुनुमा टिमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे । ‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ । आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौँ,’ उनले भने ।

पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको कुँवरको भनाइ छ । ‘मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने ।

एलओडी विश्वका उत्कृष्ट क्लबमध्ये सन् २०२५ मा ४४औँ स्थानमा थियो । क्लब सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थानमा थियो ।

प्रतिक्रिया