विशाल राईसँगको प्रतिशोधका कारण घटना गराएको प्रहरीलाई बयान

राम्रो अनलाइन     ३१ भदौ २०८०, आइतबार
विशाल राईसँगको प्रतिशोधका कारण घटना गराएको प्रहरीलाई बयान

काठमाडौं– शुक्रवार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा ४ जनाको वीभत्स हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईसँगको प्रतिशोधका कारण घटना गराएको प्रहरीलाई बयान दिएका छन् । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई आइतवार सार्वजनिक गरेको थियो । 

काठमाडौको तिनकुने स्थित गैरिगाउमा शुक्रबार चारजानाको हत्या गर्ने सिन्धुपाल्चोकका अन्दाजी २३/२४ बर्सिय सन्जय भण्डारी लाई आज आइतबार पक्राउ गरि सार्वजनिक गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर । 


खुकुरी प्रहारबाट मृत्यु भएका धनकुटाका नवीन भनिने विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् । विशालको हत्या गर्नको लागि झोलामा खुकुरी लिएर हिँडेको भण्डारीले प्रहरीसँगको बयानमा बताएका छन् । गैह्रीगाउँको दिव्य सःमिलमा काम गर्ने विशालसहित ४ जनाको शुक्रवार राति हत्या भएको थियो । 

भण्डारी सःमिलमा पुगेपछि राईसँग झगडा परेको थियो । भनाभनपछि भण्डारीले विशाललाई टाउकोमा खुकुरी हानेर ढालेका थिए । तत्कालै उनले सोही सःमिलको सुरक्षा गार्ड रहेका पूर्णबहादुर भुजेलको परिवारलाई सखाप पारेका हुन्। 

‘विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा शुभद्रा भुजेलले घटना देखेर कराएको जस्तो लागि प्रतिवादी भण्डारीले आफूलाई चिनेर घटना बाहिर आउँछ भन्ने लागेकोले बुढी आमालाई टाउकोमा खुकुरी प्रहार गरेको देखिएको छ’ पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेजस्तो देखिएकाले टाउकोमै खुकुरी प्रहार गरी हत्या गरेको देखियो ।’

आमालाई खुकुरी हानेको केहीबेरमै पूर्णबहादुरलाई टाउकोमा खुकुरी प्रहार गरेको पक्राउ परेका भण्डारीले बताएका छन् । त्यसपछि भुजेलकी श्रीमती अम्बिकालाई खुकुरी हानेको भण्डारीले स्वीकार गरेका छन् । प्रतिशोध राईसँग मात्र रहेपनि भण्डारीले भुजेल परिवार सखाप पारेका छन् । घटना बाहिर नआओस् भन्नका लागि उनले अन्य तीन जनाको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । सीसीटीभी फुटेजको आधारमा प्रहरीले हत्यामा संलग्न भण्डारीलाई आइतवार पक्राउ गरेको थियो ।

घटना शुक्रवार राति पौने १० देखि सवा १० बजेको बीचमा भएको थियो । केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले ठक्कर दिई भएको विवादमा राईले भण्डारीलाई कुटेका थिए ।  ‘विशाल राईलाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काइदिन्छु’ भन्दै दिदी–भिनाजुको घरबाट निस्केर हिँडेको प्रहरीलाई बयानको क्रममा भण्डारीले भनेका छन् । घटनाको छानबिनका लागि एसएसपी राठौरको संयोजकत्वमा समिति बनेको थियो ।

प्रतिक्रिया