चितवन– चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।
शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा ५ जनाको शव फेला परेको छ। जसमध्ये तिन जनाको मात्र पहिचान खुल्न आएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । आज भेटिएका मध्ये दुई शवको शनाखत हुन बाँकी छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।
काठमाडौँबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ।
यता, बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्।