काठमाडौँ– जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा प्रहरी प्रशासन जुटेको छ । आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो, प्रत्यक्षदर्शीका भनाइलगायत अध्ययन गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूको खोजी थालेको हो ।
घटनाका दोषीहरूका बारेमा सूचनासमेत प्रहरीले मागेको छ । केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा संलग्न एवं उक्साहटमा लाग्नेहरूको सूची तयार भइरहेको छ । केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । उनले भने, “हामीले सार्वजनिक रूपमा सूचना समेत माग गरेका छौँ ।” आम नागरिकसँग फोटो, भिडियोसहितका सूचना र पीडितसँग उजुरी समेत प्रहरीले माग गरेको छ ।
ती सूचनालाई मुख्य आधार मानेर प्रहरी परिचालन गरिएको छ । प्रवक्ता घिमिरेले लुटिएका सामान राखिएका ठाउँहरूको खोजी समेत थालिएको बताए। त्यस्ता सामग्री फिर्ता गर्न भनिएको र नभएमा जफत गरी प्रचलित कानुनअनुसार कडा कारकाही गरिने उनले जानकारी दिए।
भ्रष्टाचारविरुद्ध जेन–जीको आन्दोलनपछि सिर्जित राज्यविहीनताको मौका छोपेर अपराधमा संलग्न व्यक्तिको पहिचान र नियन्त्रण गर्न चार वटै सुरक्षा निकायले विशेष अपरेसन, प्रमाण संकलन, ध्वंसमा संलग्नहरूको पहिचान गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
हत्या, लुटपाट, आगजनी, तोडफोडलगायत अपराधमा संलग्न व्यक्तिका सूचना भए उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक अपिल गरेको छ ।
काठमाडौं उपत्यकाभित्र मात्रै राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत प्रदर्शनपछिको हिंसाका क्रममा जलेर नष्ट भएका छन् । सरकारी र सार्वजनिक सम्पत्तिरसंरचनाबाहेक उद्योगरप्रतिष्ठान तथा व्यक्तिका भौतिक सम्पत्तिमा पनि सुनियोजित तोडफोड, आगजनी र लुटपाट भएका छन् । यसबाहेक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसहित उपत्यकाभित्र मात्रै दर्जनौं प्रहरी युनिटहरू जलेर खरानी भएका छन् ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक अपिल जारी गर्दै आपराधिक गतिविधिमा संलग्नको तस्बिर, भिडियोलगायत उपलब्ध गराउन आग्रह गरेको छ । ‘यही भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू तपाईंहरूसँग छ भने कृपया हामीलाई पठाई सहयोग गर्नु हुन अनुरोध गर्छौं,’ सूचनामा भनिएको छ ।
जेन–जीको आन्दोलनको भोलिपल्ट भएको विध्वंसमा ठूलो घुसपैठ भएको छर्लंग छ। सरकारी अड्डा, अदालत तोडफोडमा उत्रिएको जमात जेन–जीको थिएन, हातमा खुँडा, खुकुरी, तरबार, घन र रड लिएकाको जत्था ठूलो थियो। त्यसैले हो, हूलदंगा मच्चाएको र ताकीताकी सरकारी सम्पत्ति नष्ट गरेको थियो।
निजी क्षेत्रका उद्यम व्यवसायलाई निशाना बनाएर ध्वस्त पारिएको छ । राष्ट्रिय पुँजी नष्ट गर्ने मनसाय जेन–जी आन्दोलनले पक्कै राखेको थिएन। साढे दुई खर्ब रुपैयाँको मात्रै निजी उद्योगधन्दा र व्यवसायमा नोक्सानी भएको प्रारम्भिक अनुमान छ। विदेशी लगानीका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त होटलसमेत खरानी पारेर देशको साखमा ठूलो गिरावट ल्याइदिएको छ।
व्यावसायिक कम्पनी, उद्योग र निजी सम्पत्ति खरानी बनाइए। सरकारसँगको आक्रोशलाई देश जलाएर आगो लगाउनेहरूले आखिर के पाए ?