तनहुँ–१ : रास्वपाका डा वाग्ले विजयी

राम्रो अनलाइन     १२ वैशाख २०८०, मङ्गलबार
तनहुँ–१ : रास्वपाका डा वाग्ले विजयी


दमौली–तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि रिक्त  यो स्थानमा आइतबार निर्वाचन भएको थियो । 
 

प्रतिक्रिया