थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा

राम्रो अनलाइन     ०६ फागुन २०८०, आइतबार
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा

थाइल्याण्ड– भ्रष्टाचार र सत्ता दुरुपयोगमा दोषी ठहरिएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पेरोलमा रिहा भएका छन् ।

पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो । शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिन्छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ः०६ बजे बैङ्ककको उनको उपचार गरेको र एक वर्षको जेल सजायको छ महिना बिताएको एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्किएका हुन् । 

थाइल्याण्डकी प्रधानमन्त्री श्रेता थाभिसिनले यस पहिले नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताएकी थिइन्। देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना पेरोलका लागि स्वीकृत ९३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुन् ।

थाइल्याण्डको कानुन अनुसार उनी ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य छन्। थाक्सिनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्टमा थाइल्याण्ड फर्किएका थिए तर उनलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उनलाई बैङ्ककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो ।  गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले थाक्सिनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष कायम गरेका थिए। 

थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री थिए तर सन् २००८ देखि उनी स्वनिर्वासनमा थिए । 
 

प्रतिक्रिया