ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु 

राम्रो अनलाइन     ३२ जेठ २०८१, शुक्रबार
ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु 


ताप्लेजुङ–ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ भने सिँवा प्रहरी चौकीबाट शुक्रवार बिहानै प्रहरी घटनास्थल पुगेर पहिरोबाट शव निकाल्नेलगायत उद्धारको काम गरिरहेको बताइएको छ । पहिरोले पुर्याएको अन्य क्षतिको विवरण आउनलाई समय लाग्ने प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिए।

खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूले पालेका दर्जनौँ पशु चौपायासमेत मरेका छन् । खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिए। गए राति करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताए।

उनका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उनका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् । भाग्ने क्रममा साम्रा र उनका एक छोरी घाइते भएका छन। घाइते बाबु छोरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि उनले जानकारी दिए । उनकाअनुसार घटनास्थलमा बिहानदेखि जनप्रतिनिधि, प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेको छ ।

प्रतिक्रिया