सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

राम्रो अनलाइन     २२ जेठ २०८३, शुक्रबार
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङले मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति र सेयर लगानीको स्रोतमा प्रश्न उठेपछि छानबिनका लागि गठित समितिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रतिवेदन बुझाएको छ । शुक्रबार समितिका पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रतिवेदन बुझाएका हुन् । 

‘छानबिनको प्रक्रिया सकेर प्रतिवेदन बुझाएका हौँ,’ छानबिन समिति सदस्य रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले प्रधानमन्त्री कार्यालयबाट बाह्रखरीलाई जानकारी दिँदै भने ।  

नेउपानेका अनुसार, प्रतिवेदन ४५ पृष्ठको छ । ‘४५ पृष्ठको प्रतिवेदनमा धेरै कुराको सुझाव दिइएको छ । प्रधानमन्त्रीबाट सार्वजनिक गर्ने कुरा आएको छ,’नेउपानेले भने । 

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो । 

समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो । 

प्रतिक्रिया