वासिङ्टन : नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएसँगै उनले लिने निर्णयहरूलाई लिएर विश्वभर चासो व्यक्त भइरहेका छन् ।
बाइडेनले कार्यभार सम्हालेको पहिलो दिनमै निवर्तमान राष्ट्रपति ट्रम्पका केही निर्णय उल्ट्याउने बाइडेनको टोलीले जनाएको छ । बाइडेनले अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पुनः फर्किने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ । उनले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने काम पनि रोक्ने भएका छन् ।
ट्रम्पले मुस्लिम देशहरूबाट अमेरिकामा यात्रा गर्न लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै कोरोना भाइरसका कारण उत्पन्न संकटका बेला विद्यार्थीलाई गरेको निष्कासन तथा ऋण भुक्तानीसम्बन्धी निर्णयसमेत बाइडेनले परिवर्तन गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले निर्वाचनका बेला नै प्रतिबद्धता गरेकामध्ये केही महत्त्वपूर्ण मुद्दाको प्रक्रिया पहिलो दिनमै अघि बढाएका जनाइएको छ । उनको टोलीका अनुसार सय दिनभित्रै
बृहत् आप्रवासी योजना पनि पेस गर्ने बताएका छन् । चुनावी अभियानका बेला बाइडेनले अघि सारेको आप्रवासी योजनाले अमेरिकामा रहेका लाखौं विदेशीले बिनाकागजात नागरिकता पाउने बाटो खुल्नेछ । बाइडेनले कोरोना राहत प्याकेजको भुक्तानी प्रक्रिया पनि अघि बढाउने बताइएको छ ।
‘यो लोकतन्त्रको उत्सव हो । यो इतिहास र आशाको दिन हो,’ उनले भने । आफ्नो कार्यकालमा जनचाहनाको सदैव कदर हुने बाइडेनले बताए । अमेरिकाले सामना गरिरहेको अभूतपूर्व चुनौती हटाउन सबै अमेरिकी एक हुनसमेत बाइडेनले आग्रह गरे ।