सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : अध्यक्ष ओली

राम्रो अनलाइन     २३ पुस २०८२, बुधबार
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। 

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले निर्वाचनका लागि सरकारले अनुकूल वातावरण तयार गर्नुपर्ने बताए। 

अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता सुदृढ हुन नदिनका लागि शान्ति खलबलाउने प्रयास पटकपटक दोहोरिएको तर्क गरे। “मुलुक अशान्त भएपछि त्यसलाई बहाना बनाएर देशलाई कमजोर बनाउने शक्ति र तत्त्व बढी क्रियाशील हुन्छन्”, उनले भने, “त्यसकारण शान्ति सुव्यवस्था कायम गर्न हामीले सदैव ध्यान दिनुपर्दछ ।” 

उनले एमाले देश, सुशासनप्रति जिम्मेवार भएकाले नेता तथा कार्यकर्ता एमालेप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले देश र जनताप्रति आफ्नो इमान सधैँ कायम नै रहने उल्लेख गरे।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले हरेक नेपालीले सिपाहीका रूपमा काम गर्नुपर्ने बताए। उनले सरकारले निर्धारित समयमा प्रतिनिधि सभाको निर्वाचन गराउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले भूपु सैनिक र प्रहरीलाई उत्पादनमूलक काममा सरकारले खटाउनुपर्ने बताए।  

प्रतिक्रिया