सरकारी मोटरसाइकलले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु

राम्रो अनलाइन     ११ भदौ २०८१, मङ्गलबार
सरकारी मोटरसाइकलले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु

 

सुर्खेत– सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारु रहेका छन् । 

उनलाई सरकारी मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिएको थियो । उक्त वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार ठक्करबाट उनको टाउको र आँखामा गहिरो चोट लागेको थियो । 

‘गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुरुमा माया नर्सिङ होम र त्यसपछि कर्णाली प्रदेश अस्पतालमा रिफर गरियो,’ विश्वकर्माले भने, ‘उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको छ ।’

प्रहरीका अनुसार मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको बुझिएको छ । उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएका थिए । यद्यपि उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ । 

प्रहरी नायव निरीक्षक विश्वकर्माका अनुसार कसैले हुम्ला खानेपानी कार्यालयको भनेपछि अझै यकिन नभएको र अनुसन्धान भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका हुम्लामा सरकारी मोटरसाइकल किनेर सुर्खेतमा चलाउँदै आएको अनुमान प्रहरीको छ । तर कर्मचारी नै नभएको व्यक्तिले कसरी सरकारी मोटरसाइकल प्रयोग गरे रु यो अनुसन्धानको विषय बनेको र उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया