काठमाडौँ । स्वतन्त्र मधेसको आन्दोलन गरेर राज्यसँग वार्ता गरी मुलधारको राजनीतिमा आएका डा. सिके राउतलाई जिल्ला अदालत नवलपरासीले ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा. राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेका डा. राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बाटोको म्यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।
सूचनामा उनलाई ३५ दिनभित्र सबुत प्रमाणसहित जिल्ला अदालतलमा हाजिर हुन भनिएको छ । तोकिएको अवधिमा हाजिर नभए कानुनबमोजिम हुनेसमेत सूचनामा उल्लेख छ । उनीविरुद्ध राज्यविरुद्धको संगठित अपराधको मुद्दा छ ।
रौतहट महादेव गाउँपालिका २ घर भई हाल जनकपुर उपमहाननगर ८ मा डेरा लिएर बस्ने डा. राउतलाई ३५ दिनमा अदालतमा उपस्थित हुन भनिएको सूचनामा उल्लेख छ ।
डा.राउत नेतृत्वको पार्टी २०७५ फागुन २४ गते ११ बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
