दमौली–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए । सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औंल्याए ।
देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकता खाँचो रहेको बताए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अगाडी जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’ सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दावी गरे। उनले भने, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा काङ्ग्रेस ठूलो शक्तिको रुपमा निर्माण गर्न सकिन्छ ।’
कार्यक्रममा काङ्ग्रेस उपसभापति धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि काङ्ग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए । तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, ‘विस्तृत शान्तिसम्झौता देखि हालसम्म भएका उपलब्धी तीन दलको एकताले भएको हो । त्यो एकता अझै आवश्यकता छ ।’
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट चन्दा सङ्कलन गरी भवन निर्माण गरिएको हो । रु दुई करोड लागतमा बनेको भवन आठ आना क्षेत्रफलमा फैलिएको छ । कार्यक्रममा चन्दादातालाई सभापति देउवाले सम्मान गरेका थिए ।