श्रीमती र तीन छोरीसहित आफैँमाथि आगो लगाए चञ्चलबहादुरले 

राम्रो अनलाइन     २३ जेठ २०८१, बुधबार
श्रीमती र तीन छोरीसहित आफैँमाथि आगो लगाए चञ्चलबहादुरले 


काठमाडौँ– काठमाडौँको चाबहिलमा एक पुरुषले श्रीमती र आफ्ना तीन छोरीसँगै आफूमाथि मट्टितेल खन्याएर मंगलबार राति आगो लगाएका छन्। काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल सरस्वतीनगरमा बस्दै आएका ५५ वर्षका चञ्चलबहादुर सिंहले श्रीमती बिन्दु, २४, १६ र ८ वर्षका छोरीहरूलाई मट्टितेल खन्याएर आगो लगाएका हुन्।

‘पहिले श्रीमती र छोरीहरूलाई मट्टितेल खन्याएर आगो लगाइदिएको रहेछ,’ घटनास्थल पुगेर फर्किएका प्रहरीवृत्त गौशालाका डीएसपी केशव थेवेले भने, ‘श्रीमती र छोरीहरूको शरीरमा आगो लाग्न थालेपछि आफ्नो ज्यानमा पनि मट्टितेल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ मादक पदार्थ सेवन गरी आएका चञ्चलले घटना घटनाएको र अन्य कारणहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।

आगो लगाएको बारे छिमेकीले प्रहरीलाई खबर गरेका थिए। आगोलागीबाट घाइते पाँचै जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पताललाई उदृत गर्दै थेवेले थप भने, ‘वर्ष १६ र २४ का छोरीहरू गम्भीर घाइते छन्। उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेको छ।’ दुईमध्ये पनि १६ वर्षकी छोरीको शरिरको भाग ८० प्रतिशत जलेको बताइएको छ। त्यस्तै २४ वर्षकी छोरीको ५५ प्रतिशत शरिरको भाग जलेको छ। चञ्चलबहादुर, बिन्दु र एक छोरीको भने शरिरको भागको १० प्रतिशत जलेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया