‘सहकारी समस्याबारे राजनीतिक छलफल जरुरी’ 

राम्रो अनलाइन     ०९ वैशाख २०८१, आइतबार
‘सहकारी समस्याबारे राजनीतिक छलफल जरुरी’ 


काठमाडौँ–कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले मौलिक चरित्रमा सहकारीलाई फर्काउन राजनीतिक दलबिच गम्भीर छलफल हुनुपर्ने बताएकी छिन्।

सहकारीमा देखिएको समस्या समाधानमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे नेपाली कांग्रेसको सहकारी विभाग र विज्ञहरूसँग शनिबार आयोजित ‘सहकारी समस्या तथा भावी रणनीति’ विषयक छलफलमा बोल्दै उनले देशले नै सहकारीका विषयमा गम्भीर भएर सोच्नुपर्ने समय आएको बताइन् । 

उनले भनिन्, ‘यति धेरै ठुलो क्षेत्र रहेछ कि हाम्रो देशको जनसङ्ख्यामध्ये एक करोड त सहकारीमा सदस्य रहेछन् । २० वटाभन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त रहेछन्, त्यही भएर सहकारीका पीडितलाई न्याय दिलाउन नियमन निकाय र सरकारी संयन्त्रलाई चुस्त बनाउन जरुरी छ ।’ उनले यसका लागि सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो हुनुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेसकी नेतृसमेत रहेकी सभापति राणाले सहकारी संस्थासँग ठगीमा परेको रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको संसदीय समितिमा गुनासो आएको जानकारी दिँदै यसप्रति सबैले गम्भीर भएर सोच्नुपर्ने धारणा राखिन्।

विसं २०७४ सालमा सहकारी जथाभाबी खोल्न दिने ऐन बनेपछि यस क्षेत्रमा समस्या भित्रिएको र त्यसको समाधान गर्नुको विकल्प नरहेको उनले बताइन्। 

कांग्रेस सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारिता वचनमा नभई व्यवहारमा देखिनुपर्ने जनाउँदै सहकारी अभियानको आवश्यकता शुद्धीकरण सुदृढीकरणको रहेको बताए। उनले भने, ‘सहकारितामार्फत समुन्नत समाज निर्माण सम्भव बनाई समाजवादोन्मुख अर्थ व्यवस्था स्थापना गर्ने अठोट लिएर अघि बढ्नु पर्छ ।’

सहकारी क्षेत्रका वर्तमान समस्यामाथि प्रकाश पार्दै उनले सहकारी क्षेत्रमा सहकारिताको अभ्यास कमजोर हुनु वा सहकारी सिद्धान्त, मूल्यमान्यता, दर्शन र आदर्शको अभ्यासमा कमी देखिनु प्रमुख कारण रहेको बताए । 

छलफलमा सहभागीले सहकारी क्षेत्र राज्य नियन्त्रित हुनुपर्नेमा जोड दिँदै हतारमा समस्याग्रस्त घोषणा गर्न नहुने, जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने र सहकारीको ऐन, नियम, आदर्श एकातिर र अभ्यास अर्कोतर्फ नहुनुपर्ने धारणा राखे। 

  

प्रतिक्रिया