बढीभन्दा बढी जापानी युवा, खास गरी पुरुषहरू यौनबाट टाढिँदै छन्। तर यो भयावह प्रवृत्तिबाट जापान मात्र होइन, अन्य देश पनि आक्रान्त छन्।
रोलान्ड केल्ट्स
खचाखच भरिएको टोकियोको योयोगी पार्क। ढकमक्क फुलेका चेरीका बोटमुनि महिला र पुरुष बसिरहेका। उनीहरूको बीचमा वाइनका बोतल, बियर र खानाहरू। चेरीका फूल झरिरहँदा सबै खाइरहेका, पिइरहेका, स्मार्टफोनमा गेम खेलिरहेका, तस्बिर, भिडियो हेरिरहेका।
फूल फुल्ने मौसममा ‘हनामी’ भनिने यस्ता जमघट चल्ने गर्छन्। शताब्दीयौँ पुरानो यो प्रचलन जापानी जीवनको सुन्दरताको प्रतीक हो। तर, यसै महिना पार्कमा जम्मा भएका मानिसहरूको नजिकैबाट हिँड्दा म चकित भएँ। किनभने, पार्कमा कुनै तन्नेरी आपसी प्रेमक्रीडामा मस्त थिएनन्। उनीहरूलाई त्यसको वास्तै नभएजस्तो देखिन्थ्यो।
लामो समयदेखि भनिने गरेको छ, जापानीहरू यौनविहीन जीवन बिताइरहेका छन्। जन्मदर स्वात्तै घटेपछि र जनसंख्यामा वृद्धवृद्धाको अनुपात बढेपछि यस्तो भन्न थालिएको थियो। अहिले त भविष्यमा जापानीहरूको संख्या निकै कम हुने अशुभ भविष्यवाणीसमेत गर्न थालिएको छ।
‘घाँस खानेहरू’
जापानमा पुरुष बन्न निकै मुश्किल छ। हरेक महिनाजसो कुनै न कुनै तथ्यांक वा रिपोर्ट सार्वजनिक हुन्छन्। ती सबैको एउटै निष्कर्ष हुन्छ, जापानी पुरुष सेक्सबाट टाढिँदै छन्। उनीहरूलाई अपमानपूर्वक ‘नामर्द’ पनि भन्ने गरिएको छ।
जापानमा कुमारहरूको संख्या लगातार बढिरहेको छ। सन् २०१६ को एक अध्ययनअनुसार १८ देखि ३४ वर्षबीचका ४२ प्रतिशत पुरुष र ४४ प्रतिशत महिलाले एक पटक पनि यौन सम्पर्क कायम गरेका छैनन्।
तर, जापान सधँै यस्तो थिएन। विगतलाई हेर्ने हो भने जापानको सांस्कृतिक परिकल्पना अत्यन्त कामुक देखिन्छ। सत्रौँ शताब्दीका जापानी कलाकृति हेर्दा अहिले पनि गैरजापानीहरू त्यसलाई अश्लील मान्ने गर्छन्। तर, वर्तमानमा जापानीहरूको यौनजीवनको चित्रण ठ्याक्कै उल्टो छ।
यौनबाट भाग्ने जापानीहरूको यो प्रवृत्तिबारे मैले पहिले पनि लेखिसकेको छु। बीबीसीले ‘नो सेक्स प्लिज, वी आर जापनिज’ नामक डकुमेन्ट्री नै बनाएको छ। त्यसमा पनि मैले कुराकानी गरेको छु। दुवै पटक म केमा होसियार छु भने, यौन विमुखताको समस्या जापानमा मात्र आएको होइन।
पछिल्ला रिपोर्टअनुसार अमेरिका, बेलायत र जर्मनीका युवामा यौनप्रतिको लगाव कम भइरहेको छ। विवाह स्थगित भइरहेका छन्, कम बच्चा जन्मिरहेका छन्। आर्थिक मन्दी र आर्थिक असुरक्षाले शारीरिक इच्छा मार्छ। अनलाइन पोर्नको सहज पहुँच, डेटिङ साइट, गेम र सामाजिक सञ्जालको नशाले कामेच्छालाई अघि बढाउने दुई साधन समय र पैसा खर्च गरिदिन्छ। यद्यपि, कामेच्छा कम हुनुको मुख्य जिम्मेवार चाहिँ पुरुष हुन्।
जापानमा कुमार तथा यौन इच्छा कम भएका पुरुषलाई हियाएर सम्बोधन गरिन्छ। तिनलाई ‘सोसोकु दान्सी’ (घाँस खानेहरू) भनिन्छ। दोस्रो विश्वयुद्धपछि उदाएको जापानी संस्कृतिमा उनीहरूलाई एकलकाँटे मान्ने चलन स्थापित भयो। अझ सबैभन्दा खराब त के छ भने तिनीहरू जापानको अप्रासंगिकताको प्रतीक पनि बनेका छन्। चीन उदाउँदो छ, अमेरिका बदलिँदै छ र जापान पछि परेको छ।
जापानको यो ‘कुमारत्वको संकट’ बारे युनिभर्सिटी अफ टोकियोले हालै एक अध्ययन गरेको थियो। अध्ययन खास गरी आर्थिक, क्षेत्रीय र पुस्तागत तथ्यांकमा आधारित थियो। यौनबाट वञ्चित पुरुषको बहुसंख्यक हिस्साले राम्रो रोजगारी नपाएको अध्ययनले पुष्टि ग¥यो। या त उनीहरू कामविहीन थिए, या पार्टटाइम काम गरेर गुजारा चलाइरहेका थिए। तीमध्ये धेरैजसो साना शहर र ग्रामीण क्षेत्रमा बसिरहेका थिए।
महिलासँग सम्बन्ध बढाउनका लागि पैसा र गतिशीलता आवश्यक पर्छ। तर, यी पुरुषसँग ती दुवै चिज छैनन्। सन् १९९० को दशकको मध्यदेखि
अर्थतन्त्र पछि प¥यो। सबैथोकको मूल्य बढ्यो। त्यसैले जापानी परिवारलाई आफ्नो खर्च धान्नै मुश्किल हुनथाल्यो। परिणामस्वरूप मानिसहरू संयुक्त परिवारमा बस्न थाले। बाहिर जाने खर्च नहुँदा युवाहरू घरमै बसिरहन थाले। जापानमा समलिंगी जोडी कति छन्, त्यसको तथ्यांक उपलब्ध छैन।
जापानमा महिलाका लागि काम पनि गर्ने परिवार पनि हुर्काउने गर्न असहज छ। दैनिक कार्यावधि अत्यन्त लामो छ। त्यसैले बच्चा जन्माउन चाहनेले काम छोड्नुपर्छ। अन्यथा, बच्चा जन्माउनु हुँदैन। एक तथ्यांकअनुसार पहिलो बच्चा जन्मेपछि ७० प्रतिशत महिला काम छोड्न बाध्य भएका छन्।
त्यस्तै, बीसेबाइसे जापानीहरू एकअर्कासँग घुलमिल हुँदैनन्। डेटिङसमेत जाँदैनन्। सन् २०१३ को एक अध्ययनअनुसार २० देखि ३० वर्ष उमेरका जापानीमध्ये ३० प्रतिशतले डेटिङको अनुभव नै गर्न पाएका हुँदैनन्।
सबैभन्दा आश्चर्यजनक त के छ भने ३० नाघेका जापानीको ठूलो संख्याले कुनै समय यौन सम्बन्ध राखेका थिए। तर, त्यसपछि उनीहरूले हार खाए। अहिले उनीहरूमा पार्टनर खोज्ने इच्छा अलिकति पनि छैन।
विवाहित पनि उस्तै
समस्या अविवाहितमा मात्र छैन। विवाहितहरू पनि यौनबाट टाढिन थालेका छन्। जापानको फेमिली प्लानिङ एसोसिएसनले सन् २०१७ मा गरेको अध्ययनअनुसार विवाहित जोडीमध्ये आधाभन्दा बढीले एक महिनादेखि यौन सम्पर्क कायम राखेका थिएनन्।
यस्तो प्रवृत्ति तत्काल परिवर्तन हुने सम्भावना पनि उनीहरू देख्दैनन्। १६ देखि ४९ वर्षबीचका तीन हजार मानिसमाझ यो अध्ययन गरिएको थियो। विवाहितमध्ये ४७.२ प्रतिशत पुरुष र महिलाले आफूहरू यौनविहीन वैवाहिक सम्बन्धमा रहेको बताएका थिए। ‘यौनविहीन विवाहको प्रवृत्ति बढेको छ,’ एसोसियसनका अध्यक्ष कुनियो कितामुरा भन्छन्।
पूरै देशको कामेच्छा यसरी घटेकोमा कतिपयले शंका व्यक्त गरेका छन्। कतिपयले भने जापान मात्रै यो समस्याबाट पीडित नभएको तर्क गरेका छन्।
यौनविहीन जीवन बाँच्नेमध्ये सबैभन्दा बढी ४० देखि ५० वर्षबीचका व्यक्ति छन्। यो समयमा उनीहरूलाई काम र परिवारको चिन्ताले सबैभन्दा बढी सताउने गर्छ।
सर्वेक्षणमा भाग लिएका २२ प्रतिशतभन्दा बढी महिलाले यौनलाई ‘झञ्झटिलो’ भनेका छन्। विवाहित पुरुषमध्ये ३५.२ प्रतिशतले कामको थकानका कारण यौन सम्पर्कका लागि अनिच्छुक भएको जवाफ दिएका छन्।
त्यसैले परिवारलाई दिइने समय बढाउन जापानमा कामको घण्टा घटाउने बहस चलिरहेको छ। यद्यपि, यससम्बन्धी ठोस निर्णय लिइएको छैन। विवाहितहरूमा कामेच्छा कम हुनुको कारण जनसंख्या घटिरहेको छ। जापानको प्रजनन दर एक महिला बराबर १.४ बालबच्चा छ। तर, जनसंख्या स्थिर राख्न कम्तीमा २.१ प्रजनन दर आवश्यक छ। जापानको जनसंख्या हाल करिब १२ करोड ७० लाख छ। सन् २०६० मा यो घटेर ८ करोड ६० लाख बन्ने अनुमान गरिएको छ।
त्यसमाथि विवाहलाई हेर्ने दृष्टिकोणले पनि यौनजीवनमा प्रभाव पारिरहेको हुन्छ। जापानमा विवाहको प्रमुख उद्देश्य सन्तान जन्माउनु मानिन्छ। विवाहपछि रोमान्टिक सम्बन्ध रहन सम्भव छ भन्नेमा धेरै असहमत छन्। त्यही भएर एक सर्वेक्षणमा झण्डै ९० प्रतिशत महिलाले विवाह गर्नुभन्दा एक्लै रहनु ठीक भन्ने जवाफ दिएका थिए।
सांस्कृतिक मान्यता जिम्मेवार
पछिल्लो अध्ययनका एक लेखक डा. पिटर उदा यसको कारण सांस्कृतिक मान्यता हुन सक्ने बताउँछन्। बीसौँ शताब्दीमा जापानमा जोडी बाँध्ने परम्परा कायम रह्यो। सन् १९८० को दशकको आर्थिक वृद्धिपछि यो काम गाउँका बूढापाकाबाट शहरका म्यानेजरको जिम्मामा आयो। तर, एक्काइसौँ शताब्दी लागेपछि आधुनिकीकरण, पश्चिमीकरण बढेसँगै जापानको आर्थिक चमक पनि खस्किन थाल्यो। त्यससँगै जोडी बाँध्ने बन्दोबस्त अनावश्यक महसुस हुँदै गयो।
‘जापानी समाज विवाह बन्धनमा बाँधिन अब इच्छुक छैन,’ उदा भन्छन्, ‘अब आफ्नो लागि जोडी खोज्ने जिम्मा झन्झन् आफ्नै काँधमा आइरहेको छ।’
जापान सामूहिकतामा विश्वास गर्छ। जहिले पनि समूहलाई प्राथमिकता दिने प्रचलन छ। आफ्नो लागि आफैँ अघि सर्नु जोखिमपूर्ण हुन सक्छ। यो ट्वीटर वा इन्स्टाग्राममा अलोकप्रिय शब्द वा तस्बिर राख्नुजस्तै हो। सार्वजनिक रूपमा एकअर्काप्रति शारीरिक प्रेम प्रदर्शन गर्ने कामलाई पहिलेदेखि नै ओठ लेप्य्राएर हेर्ने गरिन्छ। मेरो जापानी परिवारले मलाई कहिल्यै अंकमाल गरेको छैन। कहिलेकाहीँ हातसम्म समातिन्छ। त्यो पनि सहज रूपमा होइन।
विगतमा पश्चिमाहरूसँग सम्बन्ध गाँसिन थाल्दाखेरि जापानमा हात मिलाउनु पनि अनौठो क्रिया थियो। यसलाई अस्वस्थ, अनौठो मानिन्थ्यो र विदेशी भेट्दा मात्रै बाध्यतावश गरिन्थ्यो। झुकेर अभिवादन गरिन्थ्यो र अरूसँग दूरी कायम राखिन्थ्यो। जापानी भाषामा ‘म तिमीलाई माया गर्छु’ (आइसितिरु) भन्न करिब–करिब मनाही छ। कसैले भनिहाल्यो भने पनि त्यो मजाकका लागि हुन्छ। बरु ‘म तिमीलाई धेरै मन पराउँछु’ (सुकी) भन्ने गरिन्छ।
जापानले ‘यौनविहीन’ को नाम कमाएको छ। यहाँका महिला र पुरुषले कामेच्छा गुमाएको चर्चा छ। यसका कारण फरक–फरक छन्। तर, खास गरी बढेको अन्तरमुखी प्रवृत्ति र युवाहरूमा कम गुमेको सामाजिकता यसका लागि जिम्मेवार छन्।
विदेशी पत्रपत्रिकामा जापानलाई ‘विचित्र’ रूपमा प्रस्तुत गरिन्छ, हाँसोमा उडाइन्छ। जापानभित्र चाहिँ यो लज्जाको विषय हो। खास गरी, बूढापाका यसबाट लज्जित हुन्छन्। किनभने, उनीहरूलाई लाग्छ, जवानीमा उनीहरू आफूलाई ‘मर्द’ ठान्ने गर्थे। तर, यो छक्क पर्नुपर्ने विषय होइन। अन्य देशको भविष्य पनि जापानको जस्तै बन्न सक्छ। जहाँ युवाहरू यौनविहीन जीवन बिताउँछन्। जहाँ शारीरिक सम्पर्क र अन्तरंगता दिनदिनै कम हुँदै गइरहेको छ।
(केल्ट्स जापानी–अमेरिकी लेखक हुन्। उनको ‘जापानामेरिकाः हाउ जापनिज पप कल्चर ह्याज इनभेडेड दी यूएस’ किताब प्रकाशित छ। ‘द गार्जियन’मा प्रकाशित यस आलेखको अनुवाद कवि आचार्यले गरेका हुन्।)