सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । सम्झौताअन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।
बैंकले नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहाल र पाटन अस्पतालका निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरे । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाको उपचारमा राहत पुग्ने अस्पतालका निर्देशक शाक्यले बताए ।
बैंकका हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा एटिएम सञ्चालनमा छन् ।