धादिङमा रोकिराखेको ट्रकमा माइक्रोबस ठोकिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौंदी बजारमा यात्रुबाहक माइक्रोबस ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्।
नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस चरौंदी बजारमा रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो। दुर्घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी हिरामाया गुरुङ र नवलपरासी रजहरकी कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।
माइक्रोको गति तीब्र रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।