प्रतिभाशाली अभिनेता रणवीर कपुरले सन् २००७ मा फिल्म ‘साँवरिया’ बाट बलिउडमा डेब्यू गरेका थिए । त्यसयता उनले ‘अजब प्रेम की गजब कहानी’, ‘राजनीति’, ‘रकस्टार’, ‘बर्फी’, ‘ये जवानी है दीवानी’, ‘सन्जु’ लगायत थुपै्र हिट फिल्ममा काम गरेका छन् । १८ बर्से फिल्मी करिअरमा उनले धेरै फिल्ममा भने काम गरेका छैनन् । उनले प्रस्ताव गरिएका थुप्रै फिल्म अस्वीकार गरेका छन् । जो पछि अरू कलाकारको पोल्टामा परे र हिट भए ।
डेल्ही बेली
सन् २०११ मा रिलिज ‘डेल्ही बेली’ डार्क कमेडी फिल्म हो । फिल्म सुरुमा अभिनेता रणवीर कपुरलाई अफर गरिएको थियो । फिल्मका बोल्ड सिन र विषयका कारण उनले काम गर्न अस्वीकार गरे । पछि अभिनेता इमरान खान यसमा काम गर्न राजी भए ।
जिन्दगी ना मिलेगी दोबारा
जोया अख्तरको निर्देशनमा बनेको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ धेरैले रुचाएको फिल्म हो । फिल्ममा ऋतिक रोशन, अभय देओल र फरहान अख्तरले अभिनय गरेका छन् । ऋतिकलाई फिल्म साइन गर्नुअघि रणवीरलाई रोजिएको थियो । तर, रणवीरले प्रस्ताव स्विकारेनन् ।
बैन्ड बाजा बारात
यस फिल्मबाट अभिनेता रणवीर सिंहले बलिउडमा डेब्यू गरेका थिए । फिल्ममा उनको अभिनयको धेरैले प्रशंसा गरेका थिए । तर, फिल्म रणवीर सिंहभन्दा अघि रणवीर कपुरलाई अफर गरिएको थियो । उनलाई फिल्मको स्क्रिप्ट मन परेन । उनले काम गर्न अस्वीकार गरे । त्यसपछि फिल्ममा रणवीर सिंहको इन्ट्री भयो ।
टू स्टेट्स
अभिषेक वर्मनको निर्देशनमा बनेको फिल्म सबैभन्दा पहिले अभिनेता शाहरुख खानलाई अफर भएको थियो । उनले नमानेपछि रणवीर कपुरलाई अफर गरियो । उनले पनि काम गर्ने मन नगरेपछि अर्जुन कपुरले फिल्म पाए । लेखक चेतन भगतको किताब ‘टू स्टेट्स’ मा आधारित फिल्मले राम्रो व्यापार गरेको थियो । ३६ करोड भारु बजेटमा बनेको फिल्मको बक्स अफिस कलेक्सन १ सय ७५ करोड भारु थियो ।
दिल धडकने दो
फिल्ममा रणवीर सिंह, प्रियंका चोपडा, फरहान अख्तर, अनुष्का शर्मालगायत कलाकारले काम गरेका छन् । यस फिल्मका लागि पनि जोया अख्तरको पहिलो रोजाइ रणवीर कपुर नै थिए । फिल्ममा प्रियंका चोपडाको भूमिका अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । तर, यी दुवैले काम गर्न नमानेपछि जोयाले प्रियंका चोपडा र रणवीर सिंहलाई साइन गरेकी थिइन् ।
गली ब्वाई
मुम्बईका अन्डरग्राउन्ड ¥यापर ‘डिभाइन’ र ‘नाइजी’ को जीवनमा आधारित फिल्मकी लेखक तथा निर्देशक जोया अख्तर हुन् । म्युजिकल ड्रामा ‘गली ब्वाई’का लागि पनि जोयाले पहिला रणवीर कपुरलाई नै छानेकी थिइन् । तर, उनले अस्वीकार गरे । पछि फिल्ममा रणवीर सिंहले काम गरेका थिए । फिल्म सुपरहिट भयो । फिल्म फेयर अवार्डमा यस फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीका उपाधि हात पारेको थियो ।