रक्तचापको बढ्दो समस्या

डा. सुमनराज ताम्राकार     १३ फागुन २०७७, बिहिबार
रक्तचापको बढ्दो समस्या

उच्च रक्तचाप धनीमानी, हुनेखानेको मात्र समस्या रहेन। विगत केही वर्षदेखि निम्न आर्थिक अवस्था भएकामा पनि यो समस्या दु्रत गतिले बढ्न थालेको छ। त्यसो त उच्च रक्तचापले प्रमुखतः हृदयाघात, मस्तिष्कघात एवं मिर्गौला फेल गराउने जोखिम बढाउँछ।

यदि बढेको रक्तचापलाई नियन्त्रणमा राखिएन भने यसले अन्धोपन, मुटुको चालमा गडबडी ल्याउने र मुटुलाई फेल गराउने पनि गर्छ। मधुमेह, कोलेस्टेरोल बढी हुने (हाइपरकोलेस्टेरोलेमिया) लगायत रक्त सञ्चालनका अन्य जोखिम तत्त्व भएका व्यक्तिमा लामो समयको अनियन्त्रित उच्च रक्तचापले माथि उल्लिखित जटिलता हुने सम्भावना ह्वात्तै बढाउँछ।

हाल विश्वभरि तीन वयस्कमध्ये एक वयस्कमा उच्च रक्तचापको समस्या रहेको छ। वयस्क व्यक्ति भन्नाले २५ वर्षभन्दा माथिकालाई बुझाउँछ। बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्याले गाँज्ने अनुपात बढ्छ। सन् १९२० को दशकमा १० मा एक जनालाई, १९३० को दशकमा पाँचमा एक जनामा उच्च रक्तचापको समस्या देखिन्छ। अफ्रिकी देशहरूमा ४० प्रतिशत अफ्रिकी वयस्क उच्च रक्तचापबाट प्रभावित छन्।  

मस्तिष्कघात तथा मुटुसम्बन्धी विभिन्न रोगले हुने मृत्युको कारक तत्त्वमा उच्च रक्तचापको समस्या रहेको देखिन्छ। विकसित अमेरिकी तथा युरोपेली देशमा यो समस्या रोकथाम गर्ने, समयमै पत्ता लगाउने एवं उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिका कारण उच्च रक्तचापका साथै रक्तसञ्चारसम्बन्धी अन्य जोखिम तत्त्व घटाएर मुटुको रोगबाट हुने मृत्यु संख्यालाई उल्लेखनीय रूपमा घटाइएको छ।

उच्च विकसित राष्ट्रमा शीघ्र निदान तथा कम खर्चिलो उपचार प्रविधिका कारण मृत्युदरमा कमी आएको छ। उच्च रक्तचाप नियन्त्रणमा राख्नाले मुटु रोगबाट हुने मृत्युमा पनि निकै कमी आएको छ। 

यस विपरीत अफ्रिकी क्षेत्रमा भने ४० देखि ५० प्रतिशतसम्म उच्च रक्तचापका रोगीमा वृद्धि भएको छ भने यो अनुपात अझ बढ्दो छ। नेपालजस्तो विकासोन्मुख तथा अति कम विकसित राष्ट्रमा यो समस्याको त्यति सारो निदान नै भएको छैन। समस्या नभएको होइन, समयमै पत्ता लगाउन नसकिएको हो।

त्यसैले पनि उच्च रक्तचापका कारण उत्पन्न हुने जटिलता र मृत्युको सम्भावना समयमै घटाउन सकिएको छैन। मुटु रोग तथा मस्तिष्कघातले प्रभावित व्यक्तिको जीवनस्तर खस्काउने प्रक्रियालाई पनि रोकथाम गर्न सकिएको छैन।  

के हो उच्च रक्तचाप?

मुटु खुम्चिने क्रममा मुटुबाट रगत पम्प गरिएको रगत धमनी हुँदै शरीरका विभिन्न भागमा पुग्छ। यसरी पम्प गरिएको रगतले रक्तनलीको भित्तालाई दबाब दिन्छ। जसलाई मेडिकल भाषामा सिस्टोलिक ब्लड प्रेसर (रक्तचाप) भनिन्छ। मुटुले आराम गर्ने अर्थात् एक पटकको खुम्च्याइपछि खुम्चिनुअघिको अवस्थामा आउँदा पनि रक्तनलीमा तुलनात्मक रूपमा कम दबाब पर्छ।

जसलाई डायस्टोलिक ब्लड प्रेसर भनिन्छ। सामान्यतया वयस्क मानिसको सामान्य रक्तचाप १२०÷८० मिलिमिटर मर्करी हुन्छ। महिलाहरूमा अलि कम हुन्छ। 

तर, कुनै कारणले उमेर विशेषका मानिसको रक्तचाप सामान्यभन्दा बढेको अवस्थालाई उच्च रक्तचाप भनिन्छ। खासमा कुनै कारणले रक्तनलीको भित्ता साँघुरिएको वा खुम्चिएको अवस्थामा मुटुले बढी बल गर्नुपर्ने हुन्छ।

यस्तो अवरोधविरुद्ध मुटु बढी खुम्चिने र त्यसकारण रक्तनलीको भित्तामा पर्ने दबाब पनि बढ्ने हुनाले उच्च रक्तचाप विकसित हुन्छ। निरन्तर रूपमा १४०÷९० भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप मान्नुपर्छ। मधुमेह भएका व्यक्तिमा १३०÷८० भन्दा बढी पनि उच्च रक्तचापको रूपमा लिनुपर्छ। 

नुन कम खाएर, सन्तुलित भोजन गरेर, मद्यपान नियन्त्रित गरेर, नियमित शारीरिक व्यायाम गरेर, शारीरिक तौल सन्तुलन राखेर, धूम्रपानबाट टाढा रहेर उच्च रक्तचाप बढ्ने सम्भावना घटाउन सकिन्छ। 

उच्च रक्तचापसम्बन्धी भ्रम तथा यथार्थ 

–यदि निरन्तर रूपमा १४०÷९० मिलिमिटरभन्दा बढी रक्तचाप भयो भने उपचार गराउन थाले हुन्छ।

–उच्च रक्तचापको औषधि बिहानभन्दा बेलुका खानु राम्रो मानिन्छ। पहिले यसको ठीक उल्टो राति खान भनिन्थ्यो। किनकि, बिहान वा दिउँसो त्यसै पनि रक्तचाप हल्का बढ्ने समय हो तर राति गहिरो निद्रासँगै यथेष्ट आरामले त्यसै पनि रक्तचाप   घट्नुपर्ने समयमा रक्तचाप बढ्न गयो भने बढ्ता हानिकारक हुन्छ। त्यसैले रातिको रक्तचाप नियन्त्रणमा राख्नुपर्छ। 

–मधुमेह, थाइरोइडजस्तै के उच्च रक्तचापविरुद्धको औषधि पनि जिन्दगीभर खानुपर्ने हुन्छ? बाँचुञ्जेल बिहान–बेलुका भात     खानुपर्छ भने एक–दुई मात्रा औषधि खान किन हिचकिचाउनु? हामी निम, करेला खान हिचकिचाउँदैनौँ तर औषधि खान भने   गाह्रो मान्छौँ। 

– कम नुनले जस्तै शारीरिक वजन नियन्त्रणले पनि उच्च रक्तचापका रोगीलाई मद्दत गर्छ। वजन घटाउन योग, व्यायाम,   अभ्यास गर्नुपर्छ। 

–अनियन्त्रित उच्च रक्तचापले मुख्यतः मिर्गौला, मुटु, आँखा, मस्तिष्क, कलेजोमा असर गर्छ। हृदयाघातभन्दा मस्तिष्कघात    बढी गराउँछ। मधुमेहले बरु हृदयाघात धेरै गराउँछ।

–आधुनिक जीवनशैली तथा खानपानले उच्च रक्तचापको समस्या कलिलै उमेरमा पनि देखिन थालेको छ। यस्तो परिस्थितिमा यसका कारण उत्पन्न हुने जटिलता पनि बढी र चाँडै देखिन्छ।

–पहिलेजस्तो उमेर ४० कटेपछि मात्र उच्च रक्तचापले छुन्छ भन्ने उमेरको हदबन्दी उच्च रक्तचापको लागि मिथ्या साबित भएको छ। त्यसैले मुटु रोग विशेषज्ञले प्रत्येक तीनचार महिनामा नियमित रक्तचाप नाप्न लगाउन सल्लाह दिन थालेको छन्।

प्रतिक्रिया