बुटवल : अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका-२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा फसेका थिए ।
लमही-७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो । आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वलामाई गणबाट सशस्त्र प्रहरी उपरिक्षक टोप बहादुर खनाल र नम्बर ४१ रिर्जव गण चन्द्रौटा कपिलबस्तु बाट सशस्त्र प्रहरी उपरीक्षक यादब बिश्वकर्माकोको कमान्डमा गएको बिपद ब्यबस्थापन सहितको टोलिले ९ बजे चारै जनाको उद्दार गरि घर पठाएको हो ।
बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
