पर्वतको पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै

राम्रो अनलाइन     ०५ चैत २०८०, सोमबार
पर्वतको पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै


पर्वत–दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माण गर्ने भएको छ । पालिकाभित्रका सातवटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यस वर्ष १३ वटा योजना छनोट गरिएको हो । सिँचाइको सुविधाबाट वञ्चित क्षेत्रका व्यावसायिक कृषकलाई यो कार्यक्रम लाभदायक हुने पैँयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजीव रिमालले जानकारी दिए। 

इन्जिनियर रिमालका अनुसार टकलाक सिँचाइ कुलो निर्माणका लागि रु दुई लाख, त्रिवेणीको बोकेखोला गल्छिना कुलो निर्माणका लागि रु एक लाख, वडा नं २ को अर्नास खाद्यान्न बाली उत्पादक समूहका लागि रु एक लाख विनियोजन गरिएको छ । यसैगरी उपल्लो चालिसे सिँचाइ कुलो योजना बेउलीवासका लागि रु एक लाख ५० हजार, काउदी पिपलमुनि सिँचाइ कुलो बेउलीवासका लागि रु ५० हजार, घोप्टेखोला सिँचाइ कुलो मर्मत हुवासका लागि रु एक लाख विनियोजन भएको छ ।

इन्जिनियर रिमालका अनुसार झौरीखेत महने सिँचाइ कुलो निर्माणका लागि रु एक लाख, पिल्लेटारी सिँचाइ कुलो निर्माणका लागि रु एक लाख ५० हजार, ठाडेखोला सिँचाइ कुलो निर्माण भुर्तेलथोकका लागि रु ५० हजार, कुवादीखोला, दशमुखरे, बेलवादी फाँट सिँचाइ योजना सरौखोलाका लागि रु दुई लाख विनियोजन भएको छ । अर्बुदखोला सिँचाइ योजनाका लागि रु ५० हजार, तथा भोर्लेखोला सिँचाइ योजनालाई रु एक लाख, र सोतीपोखरी–डाँडाखेत सिँचाइ योजनाका लागि रु ५० हजार विनियोजन भएको छ । 

चालु आवका लागि साना सिँचाइ योजनामा पालिकाले रु १४ लाख विनियोजन गरेको थियो । पालिकाले दश दिनभित्रमा योजना सम्झौता गरी निर्माण कार्य थालनी गर्ने अनुरोध गरेको छ । सबै योजना चालु आवभित्र नै सम्पन्न गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए। 

सिँचाइको सुविधा नपुगेका व्यावसायिक फार्ममा आवश्यक पानी विभिन्न स्रोतबाट उपलब्ध गराउने उद्देश्यले कृषि फार्म र कृषिसँग सरोकार राख्ने संस्थामार्फत साना सिँचाइ योजना निर्माण गर्न थालिएको पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । उनका अनुसार माग भएका अन्य योजनालाई आगामी आवमा समावेश गरिने भएको छ । यसबाहेक साना सिँचाइका पुराना योजना मर्मतका लागि पनि पैँयू गाउँपालिकाले विभिन्न आठ वटा आयोजना छनोट गरिएको उनले बताए।

प्रतिक्रिया