प्रसूति गृहमा प्रभावकारी रक्तसञ्चार सेवा

राम्रो अनलाइन     १८ असोज २०८१, शुक्रबार
प्रसूति गृहमा प्रभावकारी रक्तसञ्चार सेवा

 

काठमाडौं– धेरै सरकारी तथा निजी अस्पतालका बिरामीलाई रगतको आवश्यकता पर्दा बिरामीको आफन्त रगत जुटाउन दौडिनुपर्ने अवस्था छ । तर अस्पतालमा रहेका बिरामीले रगत चाहिएको अवस्थामा अस्पतालबाट नै रगत पाए भने निकै सहज हुन्छ । बिरामीलाई यो सहज वातावरण सिर्जना गर्ने काम परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्दै आइरहेको छ ।

अस्पतालका धेरै बिरामीले रगतको व्यवस्थापनका लागि चिन्ता लिनु पर्दैन । ७० प्रतिशत बिरामीलाई आवश्यक पर्ने रगत अस्पतालमा नै उपलब्ध हुन्छ र बाँकी ३० प्रतिशत बिरामीलाई पनि रगत लिन कहाँ जाने भनेर सहजीकरण गर्ने काम अस्पतालका कर्मचारीले नै गर्छन् ।

प्रसूति गृहले बिरामीलाई आवश्यक पर्ने रगतको आन्तरिक व्यवस्थापन २०६४ देखि नै गर्दै आएको थियो । २०७२ सालभन्दा अघि रेडक्रस सोसाइटीसँग मिलेर रक्त सङ्कलन हुन्थ्यो । २०७२ सालको भूकम्पपछि भने रक्त सङ्कलनको काम पनि प्रसूति गृहले नै सुरु गर्‍यो ।

‘अस्पतालमा कति बिरामीलाई रगतको आवश्यकता पर्न सक्छ भन्ने मूल्यांकन गरेर रगतको व्यवस्थापनमा जुट्यौं । साथै रगत सङ्कलनको लागि अस्पतालमा र बाहिर पनि रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा आवश्यकता पर्ने रगतको व्यवस्थापन गरिएको छ’ अस्पतालका ब्लड बैङ्क इन्चार्ज परशुराम दाहाल भन्छन् । उनका अनुसार दशैं तिहार जस्ता ठूला चाडको बेलामा पनि अस्पतालबाट नै रगतको व्यवस्थापन हुन्छ । रगतका लागि बिरामीको आफन्त भौतारिनु नपर्ने भएको छ ।

नवजात शिशुलाई पहिलो प्राथमिकता दिएर अस्पतालबाट नै उनीहरुका लागि आवश्यक परेको रगत व्यवस्थापन हुन्छ । अस्पतालमा एउटै बिरामीलाई ५५ पोका सम्म रगत चढाइएको रेकर्ड छ । शरीरमा बग्ने रगतमा प्लाज्मा, रातो रक्तकोषिका, सेतो रक्तकोषिका र प्लेटलेट मिलेर बनेको हुन्छ । त्यसैले २०७४ सालदेखि ‘ब्लड कम्पोनेन्ट’ रगतको तत्त्व छुटाउने सेवा पनि उपलब्ध हुँदै आएको दाहाल बताउँछन् । ‘सङ्कलन भएको कुल रगतको लगभग ५५ प्रतिशत ब्लड कम्पोनेन्ट बनाउँछौं । यसरी ब्लड कम्पोनेन्ट छुटाएपछि जुन बिरामीलाई जुन तत्त्व चाहिन्छ त्यो तत्त्व दिन पाइन्छ’ उनी भन्छन्, ‘यसले बिरामीलाई धेरै सजिलो भएको छ ।’

प्रसूति गृहमा अहिले रगत क्रसम्याच गर्ने, ब्लड ग्रुप छुटाउने र एन्टिबडी स्क्रिनिङ गर्ने अत्याधुनिक मेसिन पनि उपलब्ध छ । रक्तदान गर्ने व्यक्तिमा पहिलो चरणको रगतबाट सर्ने रोग छ भने त्यो पत्ता लगाउने प्रविधि पनि छिट्टै भित्रिंदै छ । जसले रगतबाट सर्ने रोगको जोखिम घटाउँछ ।

अस्पतालमा मात्र हैन अस्पताल बाहिरका कोही बिरामीलाई इमरजेन्सी रगतको आवश्यकता परेको खण्डमा अस्पतालले रगत उपलब्ध गराउँछ । प्रसूति गृहको रक्तसञ्चार सेवा प्रभावकारी हुनमा अस्पतालको व्यवस्थापन, कर्मचारी, रक्तदाता सबैको उत्तिकै भूमिका रहेको अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बताउँछन् । पछिल्लो केही दिनयता डेंगुको बिरामी बढेसँगै प्लेटलेटको अभाव भइरहेको अवस्थामा प्रसूति गृहबाट डेंगुका बिरामीलाई प्लेटलेट पनि उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया