पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

राम्रो अनलाइन     ३० माघ २०७७, शुक्रबार
पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

पर्साको जगरनाथपुर गाउँपालिका-१ पिपडारीमा पर्ने ओरिया खोलामा बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सशस्त्रका जवानहरू आयुष राय यादव र अन्दाजी नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ ।

ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको र स्थिति सामान्य रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।
 

प्रतिक्रिया