काठमाडौं– नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका– १ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया बिपना, बसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की छन्।
त्यस्तै नुवाकोटको तादी गाउँपालिका–४ ओखरे घर भएकी २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक छन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरि नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् ।
ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।