पाँच महिनामा नै उदायो श्रम संस्कृति, प्रत्यक्षतर्फ तीन सिटमा जित

राम्रो अनलाइन     २४ फागुन २०८२, आइतबार
पाँच महिनामा नै उदायो श्रम संस्कृति, प्रत्यक्षतर्फ तीन सिटमा जित

काठमाडौं– असोजमा स्थापना भएको श्रम संस्कृति पार्टीले पाँच महिनापछि भएको चुनावमा प्रत्यक्षतर्फ तीन सिट जितेको छ । 

हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा तीन उमेदवार निर्वाचित भएका हुन् । पार्टी अध्यक्ष राई सुनसरी–१ बाट निर्वाचित भए । उनी ३५ हजार ७४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रास्वपाका गोमा तामाङको मत २७ हजार २४९ छ । राई धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका थिए । उनले फराकिलो मतान्तरसहित संसद्को यात्रा तय गरेका हुन् ।

सोही पार्टीका आरेन राई खोटाङबाट निर्वाचित भए । उनले १६ हजार ६१२ मत ल्याएर संसद्को यात्रा तय गरे । उनका प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए । 

अर्का उमेदवार ध्रुवराज राई, भोजपुरबाट निर्वाचित भए । उनले एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरे । ध्रुवराजले १६ हजार ६६३ मत ल्याउँदा शेरधनले १४ हजार ७५० मत पाए ।

समानुपातिकतर्फ ४५ लाख ३० हजार ९९३ मत गणना हुँदा उक्त पार्टीले एक लाख सात हजार ३२ मत पाएको छ । समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत कटाए मात्रै सांसद पाउनेछ ।  निर्वाचन आयोगबाट गएको कात्तिकमा दल दर्ताको प्रमाणपत्र पाएको श्रम संस्कृति छोटो अवधिमा उदाएको छ । 

प्रतिक्रिया