काठमाडौं– नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वर्ल्ड र्याङ्किङ जि २ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् । सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि ५ तारिखसम्म सम्पन्न भएको हो । अशोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहेका थिए । वर्ल्ड र्याङ्किङ जि २ क्यारोगीतर्फ अशोकले १९ फाइट खेलाए । जसमा तीन फाइनल र चार सेमिफाइनल छन् ।
अशोकले सोमबार राति पुम्सेतर्फका खेल पनि सञ्चालन गरे । उनी पुम्से विधाका समेत अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक हुन् । क्यारोगीतर्फ अशोकलाई दोस्रो क्लासका अन्तर्राष्ट्रिय निर्णायकको मान्यता छ ।
गतवर्ष विश्व तेक्वान्दोमा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोकले हालसम्म २१ वटा अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गरिसकेका छन् ।
बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वर्ल्ड र्याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका अशोक पारा रेफ्री कोर्स गर्ने नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुन् । गतवर्ष युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा अशोकलाई सम्मान गरेको थियो ।