दमौली– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र त्रिभुवन आर्मी क्लव विजयी भएको छ ।
आज बिहान भएको पहिलो खेलमा फुलकोर्टतर्फ प्रदेश नम्बर १ लाई पराजित गर्दै बागमती प्रदेशले विजय सुरुआत गरेको हो । बागमती प्रदेशले प्रदेश नम्बर १ लाई ७५–२६ अङ्कको फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा बागमतीका विनामणि योञ्जनले सबैभन्दा बढी १३ अङ्क जोडे भने प्रदेश नम्बर १ का शितल तामाङले आठ अङ्क जोडे ।
थ्री बाई थ्रीतर्फ बागमती प्रदेश र त्रिभुवन आर्मी क्लव विजयी भएको छ । थ्री बाई थ्रीतर्फ बागमतीले मधेश प्रदेशलाई १४–२ ले अङ्कले पराजित गरेको छ । उक्त खेलमा बागमतीका आशा चौधरीले सबैभन्दा बढी आठ र मधेशका शवनम खातुनले एक अङ्क जोडेका थिए ।
थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित गरेको छ । खेलमा त्रिभुवन आर्मी क्लवका जेनिशा श्रेष्ठले सबैभन्दा बढी आठ र लुम्बिनीका सृष्टि चौधरीले तीन अङ्क जोडेका थिए ।
प्रतियोगिता अन्तर्गत आज नै फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लव र सुदुरपश्चिम प्रदेशबीच खेल हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए । थ्री बाई थ्रीतर्फ सुदुरपश्चिम र प्रदेश नम्बर १ तथा सशस्त्र प्रहरी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगिताका लागि फुलकोर्ट (पाँच जना खेलाडी) र थ्री बाई थ्री (तीन जना खेलाडी) का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच जना खेलाडी खेल्नेतर्फ समूह ए मा नेपाल आर्मी, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश रहेका छन् भने समूह बि मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।
तीन जना खेलाडी खेल्नेतर्फ समूह ए मा मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह बि मा प्रदेश नम्बर १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश रहेका छन् ।