नग्न तस्वीर लिक भएको घटनाले विक्षिप्त हुन्छिन् जेनिफर लरेन्स 

राम्रो अनलाइन     ०८ मंसिर २०७८, बुधबार
नग्न तस्वीर लिक भएको घटनाले विक्षिप्त हुन्छिन् जेनिफर लरेन्स 

 

हलिउड अभिनेत्री जेनिफर लरेन्सले जीवनमा अत्यन्तै डर लागेको क्षणका विषयमा कुरा गरेकी छन् । जीवनमा घटेका दुई घटनाले आफूलाई सधैं तनाव हुने उनले बताएकी छन् ।

एक अन्तर्वार्ताका क्रममा जेनिफरले आफ्नो नग्न तस्वीर ह्याकरले इन्टरनेटमा लिक गराएको घटनामा आफू सधैं दुःखी हुने बताइन् । सन् २०१४ मा उनको निजी तस्वीर इन्टरनेटमा लिक भएको थियो । अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्, ‘मेरो सहमति विना कसैलाई पनि मेरो नग्न तस्वीर हेर्ने अधिकार छैन । त्यो घटना सधैं मेरो मनभित्र गढेको छ ।’

जेनिफरले जीवनमा घटेको अर्को एक घटनाले पनि आफूलाई त्यसबेला कमजोर बनाएको बताएकी छन् । सन् २०१७ मा आफ्नो घर लुइसभिल्लेबाट न्युयोर्क जाँदा आफ्नो निजी विमानको इन्जिन फेल हुँदा अत्यन्तै डराएको उनले सुनाइन् । त्यसपछि हरेक पटक विमानमा सवार हुँदा त्यही घटनाको याद आउने उनले स्मरण गरिन् । उनले अगाडि भनिन्, ‘हामी सब मर्नेवाला थियौं । मैले त्यसबेला आफ्नो परिवारलाई धेरै सम्झिएँ ।’

जेनिफरका अनुसार उनको निजी विमान घर लुइसभिल्लेबाट न्युयोर्क गइरहेको थियो । आकाशमा उडिरहेको बेला विमानमा जोडदार आवाज आएको र चालकले इन्जिन खराब भएको भन्दा आफू एकदमै डराएको उनले बताइन् । त्यसबेला आफूले मृत्युलाई नजिकबाट देखेको उनले उल्लेख गरेकी छन् । ‘त्यतिबेला मैले आफ्नो कंकाल मात्रै बचेको महसुस गरें,’ उनले भनिन् ।

जेनिफरका साथ विमानमा उनका दुई जना भाइ र डाक्टर पनि थिए । विमानलाई नियागरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएपछि भने आफूले लामो सास फेरेको उनले बताइन् । उनले भनिन्, ‘रनवेमा फायर ट्रक र एम्बुलेन्स तयारी अवस्थामा थिए । भाग्यवश सबै ठीक भयो र सबै जना बाहिर आउन सफल भयौं ।’

प्रतिक्रिया