काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ ।
कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोबार भयो ।
आजको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ ।