काठमाडौं–नेपाल प्रहरीको ३३ औं आईजीपीको रुपमा दानबहादुर कार्की नियुक्त भएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनै कार्कीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पेको हो ।
उनी १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रुपमा भर्ना भएका थिए । जसअनुसार विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।
विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।