जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले यस अवधिमा चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार संकलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार संकलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
हालसम्म आयकरबापत एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरबापत तीन करोड १८ लाख ९९ हजार, ब्याजकरबापत ६ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धिकरबापत ८१ करोड ९४ लाख संकलन भएको छ ।
यस्तै, अन्तःशुल्कबापत एक अर्ब ८८ करोड ८५ लाख, स्वास्थ्य सेवाकरबापत तीन लाख, शिक्षाकरबापत एक हजार तथा अन्यबापत दुई करोड ५२ लाख ६६ हजार गरी कुल तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले चार करोड ३० लाख दाखिला गरेको बताए ।
आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् ।