काठमाडौँ– नाबालिकाहरुलाई गेष्ट हाउसमा यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले धनकुटा घर भई काठमाडौंको जडिबुटी बस्ने ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई पक्राउ गरेको हो । तामाङले जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालन गर्दै आएकी थिइन्।
आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगमा कम पढे–लेखेका बालिकाहरूलाई क्याफे, गेष्टहाउसमा वेटरको काम दिने र त्यसबापत आकर्षक तलब दिने भन्दै फकाउने गरेको पाइएको छ। सुरूमा त्यहाँ वेटरकै काम दिएपनि पछि उनीहरूलाई यौन गतिविधि गर्न बाध्य पारेको खुलेको छ ।
यसरी बालिकाहरूलाई यौन व्यवसायीमा लगाएको भन्ने सूचनापछि ब्युरोको टोलीले दुई जना बालिकाको उद्धार समेत गरेको छ।