मुस्ताङ – कोरला नाकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा चालक घाइते भएका छन् ।
काठमाडौं पोखरा हुँदै मुस्ताङको नेपाल(चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको ‘टोयटा हायस जीप’ दुर्घटना भएको हो । चालक काठमाडौं तारकेश्वर नगरपालिका–५ टोखा निवासी ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् ।
जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ । कोरला नाकानजिकै अनियन्त्रित भई सोमबार (चैत ३०) बिहान दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
उनका अनुसार, कोरला नाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याइएको छ ।