मुलुक बंगलादेश जस्तो नहोस् भन्नेमा छौँ : प्रधानमन्त्री कार्की

राम्रो अनलाइन     १० पुस २०८२, बिहिबार
मुलुक बंगलादेश जस्तो नहोस् भन्नेमा छौँ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलक बंगलादेशजस्तो नहोस् भन्नेमा आफू रहेको बताएकी छन् । बिहीबार बाह्रखरी कथा प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा उनले भनिन्,‘हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौँ, बंगलादेश चाहिँ मुलुक नहोस् । किनभने नेपालीहरूले जीवनभर अति दुःख पाएका छन् । नेपालीहरूको विकास भएको छैन । परिवर्तनका लागि नभेटेरै होला सबै विदेशीएका छन् । यो परिस्थितिमा फेरि पनि मारकाटको स्थिति भयो भने के होला?’ 

उनले अहिलेको सरकार अचानोजस्तो भएको टिप्पणी गरिन् । सकसका साथ सरकारले काम गरिरहेको दाबी गरिन् । ‘बाहिरको चाहना एकैचोटी होस्, जम्मै कुरा एकैचोटी गर्दिउन भन्छन् । धेरै वर्षसम्म नभएपछि मान्छेले आशा राख्छ, एकैचोटी हुनुपर्छ । परिवर्तन हुनुपर्छ भन्ने खालको मान्छेले आशा राख्छ । तर, क्षमताले भ्याउनुपर्दो रहेछ, तागतले भ्याउनुपर्ने रहेछ । सबै कुरा गर्न सक्नुपर्ने हुँदोरहेछ,’ उनले भनिन्, ‘हामी त अचानो जस्तो पो भएछौँ ।’

उनले थपिन्, ‘पोलिटिकल पार्टीले पनि भरमार गाली गर्छ । अहिलै छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि, पर्सी छोड भन्छ । छोडौँ भने के छोडौँ, थुक्क पालो त दिएको थियो त तिमीहरूलाई एउटा, औकात त छोडेर हिँड्ने रहेछ भन्ने भाष्य आउँछ हामी त पेन्डुलम जस्तो ।’

प्रतिक्रिया