विराटनगर – शिवदल गण, थलाहा व्यारेक मोरङले जिल्लाभित्र रहेका सुकुम्वासी बस्तीको विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरेको छ ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत तयार गर्ने र वास्तविक सुकुम्वासीलाई चरणबद्ध रूपमा जग्गा उपलब्ध गराउने योजना कार्यान्वयनको सन्दर्भमा सेनाले विवरण माग गरेको जनाएको छ ।
मोरङमा रहेका अव्यवस्थित सुकुम्वासी बस्तीहरूको अद्यावधिक विवरण आवश्यक परेको भन्दै शिवदल गणले उक्त जानकारी यथाशीघ्र उपलब्ध गराइदिन प्रशासनसँग अनुरोध गरेको हो ।
सेनाले पठाएको पत्रमा सुकुम्वासी बस्तीको स्थान, बस्ती बस्न सुरु भएको मिति, घरधुरी संख्या तथा बस्तीका पदाधिकारीको सम्पर्क नम्बर उपलब्ध गराउन आग्रह गरिएको छ ।
उक्त पत्र वैशाख १२ गते पठाइएको जनाइएको छ । पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय मोरङलाई पनि दिइएको छ ।