‘मोदीबेनी’ले पूरा गर्ला त स्नेहाको सपना ? 

राम्रो अनलाइन     १५ साउन २०८१, मङ्गलबार
‘मोदीबेनी’ले पूरा गर्ला त स्नेहाको सपना ? 


काठमाडौँ– स्नेहा भट्टराई फिल्म ‘मोदीबेनी’का लागि निकै उत्साहित छिन् । आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’ उनको डेब्यु फिल्म हो । डेब्यु फिल्म रिलिज हुँदैगर्दा छटपटी हुने बताउँछिन् । कारण खोलिन्, ‘पहिलो फिल्म के होला, दर्शकले कसरी लेलान् भन्ने लाग्दो रहेछ ।’

हुन त स्नेहाको सानैदेखि अभिनयमा आउने चाहना थियो । सानोमा कसैले ठुलो भएपछि के बन्ने भन्दा टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिन्थिन् । किनभने टेलिभिजनमा देखिने सबै कलाकार भन्ने उनको बुझाई थियो ।

‘मोदीबेनी’मा उनको मुख्य भूमिका भने छैन । त्यहाँ उनी सहायक भूमिकामा देखिँदै छिन् । सहायक हुँदै दर्शकको मन जित्दै मुख्य पुग्ने उनको सोच छ । ‘मोदीबेनी’ अभिनय दर्शकले रुचाउलान् त रु प्रश्न राख्न नपाउँदै उत्तर फर्काइन्,‘ क्यारेक्टरले मागेको शतप्रतिशत दिएको छु । बाँकी दर्शकको हातमा छ ।’

कोशी प्रदेशको इटहरीमा जन्मिएकी स्नेहा सौन्दर्य प्रतियोगिता हुँदै कलाकारितामा आएकी हुन् । करिब ७ वर्ष अगाडि उमेरले १७ वर्ष टेक्दै गर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल–२०१७’ मा सहभागी भईन् । उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसँगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको उनी बताउँछिन् ।

त्यसपछि उनले ‘बिहानी’बोलको म्युजिक भिडियो अभिनय गरिन् । प्रन्जल पोख्रेलको स्वर रहेको यो गीतपछि ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ लगायत थुप्रै अभिनयमा देखिइन् ।

त्यसपछि ‘मिसयुज’ नामक लघु चलचित्र अभिनय गरेकी उनले अभिनेता मुकुन भुसालसँग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । सिक्ने क्रमको अन्त्य कहिले नहुने भन्ने कुरा बुझेकी स्नेहाले अभिनयमा अझै निखार ल्याउन अनुप बरालसंँग अभिनयको प्रशिक्षण लिने सोचमा छिन् ।

अभिनयलाई नै आफ्नो करियर बनाउने सोचका साथ अगाडि बढिरहेकी उनीसँग मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोता र ३५ बढी कमर्सियल विज्ञापन गरेको अनुभव पनि छ । 

प्रतिक्रिया